"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

करिब ४५ हजार ५०० उपभोक्तालाई लक्षित गरी सेनाको सुपथ मूल्य पसल शुरु

काठमाडौं । नेपाली सेनाले बहालवाला तथा भूतपूर्व सैनिक र तिनमा आश्रित परिवारको हितका लागि आजदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । कल्याणकारी कोषबाट प्रदान गरिँदै आएको ‘सुविधा र सहुलियत’ कार्यक्रम विस्तार गर्ने योजनाअनुरूप सेनाले केन्द्रीय क्यान्टिनका रूपमा सैनिक मुख्यालय जङ्गी अड्डा परिसरमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले त्रिपुरेश्वरस्थित सेनाको एमईएसको हाताभित्र सञ्चालनमा ल्याइएको सुपथ मूल्य पसल सञ्चालनको शुभारम्भ गरे । उक्त पसलमा दैनिक अत्यावश्यक खाद्य सामग्रीदेखि जुत्ता, चप्पल, इलेक्ट्रोनिक र खेलकुद सामग्रीसमेत राखिएको छ ।

बहालवाला तथा भूतपूर्व सैनिक र तिनमा आश्रित परिवारको जीवनस्तर उठाउन तथा सङ्गठनसँग पहुँच र प्रभावकारिता विस्तार गर्ने उद्देश्यले सुपथ मूल्यका पसल सञ्चालनमा ल्याएको जनाइएको छ । क्यान्टिनमा प्रारम्भमा रु तीन करोड मूल्य बराबरका सामग्री राखिएको जानकारी दिइयो ।

वार्षिक करिब ४५ हजार ५०० उपभोक्तालाई लक्षित गरी सञ्चालनमा ल्याइएको उक्त पसलबाट वार्षिकरूपमा रु ४० करोड भन्दाबढी कारोवार हुने अपेक्षा गरिएको छ । सैनिक सेवामा करारमा रहेकाले पनि उक्त पसलबाट सेवा लिन सक्ने छन् । सेनाले पृतनास्तरमा क्रमशः सुपथ मूल्य पसल विस्तार गर्दै लैजाने योजना जानकारी दिएको छ । कार्यालय सञ्चालन खर्चका लागि थोक मूल्यमा एक प्रतिशत मात्र मूल्य बढाएर विक्री गरिने बताइएको छ ।

२०७६ फागुन १८ गते आइतवार २०:०१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु