दुधजन्य पदार्थमा हानिकारक रसायन मिसाउन अनुमति दिएका छैनौं : विभाग

काठमाडौं । दुधजन्य पदार्थ र शिशु आहारमा हानिकारक रसायन मिसाउन कसैलाई पनि अनुमति नदिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले स्पष्ट पारेको छ ।
सरकारले दुधजन्य र अन्य शिशु आहारमा हानिकारक औद्योगिक रसायन मेलामाइन मिसाउन अनुमति दिएको समाचार यसअघि प्रकाशमा आएको थियो । समाचारपछि उपभोक्ताहरू चिन्तित बनेका छन् । तर, विभागले यसबारे प्रष्ट पार्दै कसैलाई पनि हानिकारिक रसायन मिसाउन अनुमति नदिएको जनाएको छ ।
‘दुग्धजन्य पदार्थमा कुनै पनि अखाद्य पदार्थ मिसावट गर्न पाइँदैन,’ विभागले शुक्रबार एक ध्यानाकर्षण पत्र सार्वजनिक गर्दै भनेको छ, ‘एफएओरडब्ललूएचओअन्तर्गत खाद्य पदार्थको अन्तर्राष्ट्रिय मापदण्ड निर्धारण गर्ने संस्थाले वैज्ञानिक अनुसन्धान तथा तथ्यको आधारमा तोकेको र नेपाल सरकारले निर्धारण गरेको मापदण्डअनुसार सबै प्रकारका खाद्य पदार्थको अनुगमन तथा परीक्षण गर्ने गरेको छ ।’
जनस्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित विषयमा विभाग सचेत र सजग रहेको जनाउँदै विभागले भ्रममा नपर्न सबैमा आग्रह गरेको छ । साथै उसले निर्धारित मापदण्डविपरीतका काम भएको पाइएमा खाद्य ऐन र नियमावली अनुसार कारबाही गर्ने चेतावनी पनि दिएको छ ।
‘कसैले निर्धारित मापदण्डविपरीत कार्य गरेमा खाद्य ऐन, २०२३ र खाद्य नियमावली, २०२७ बमोजिम कारबाही हुने व्यहोरा जानकारी गराइन्छ,’ विभागद्वारा जारी ध्यानाकर्षण पत्रमा भनिएको छ ।
२०७६ फागुन १६ गते शुक्रवार १३:०८ बजे प्रकाशित