यो सरकार बनेपछि दैनिक छ किलाेमीटर बाटो कालोपत्र भएको छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार गठनपश्चात प्रतिदिन लगभग छ किलोमिटरका दरले सडक कालोपत्र हुँदै आएको बताएका छन्।
सरकार गठनको दुई वर्ष पूरा भएको अवसरमा प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै आज उनले सरकारले यस अवधिमा हासिल गरेका उपलब्धिका बारेमा जानकारी गराउँदै सो जानकारी दिएको हो । प्रधानमन्त्री ओलीले भने, “यस अवधिमा १२५ तुइन विस्थापन भइसकेका छन्, भूकम्पले क्षतिग्रस्त तातोपानी जोड्ने सडक निर्माण भई आयात–निर्यात सञ्चालन भएको छ । कृषि र माछामासुमा मुलुक आत्मनिर्भर भएको छ ।”
सरकारले करका दर होइन दायरा बढाउने सोच बनाएको उल्लेख गर्दै उनले स्थिर सरकार गठनसँगै विदेशी लगानीका लागि राम्रो वातावरण बनेको बताए । यस अवधिमा रु दुई खर्बको लगानीको प्रतिबद्धता आएको जानकारी गराउँदै प्रधानमन्त्री ओलीले व्यापार विविधिकरणमा उल्लेखनीय सुधार आई निर्यात २६।१ प्रतिशतले बढेको र आयात घटेको बताए ।
ऊर्जा क्षेत्रमा भएका उल्लेखनीय उपलब्धिका बारेमा जानकारी गराउँदै उनले विद्युत् उत्पादनमा भएको वृद्धिसँगै विद्युत् निर्यातसमेत हुन थालेको बताउनुभयो । साथै ८८ प्रतिशत जनसङ्ख्यामा विद्युत् पुगेको उनले जानकारी गराए । यस अवधिमा विभिन्न विद्युत् प्रसारण लाइन निर्माणमा पनि उल्लेखनीय प्रगति भएको छ । यसले उत्पादित विद्युत् भारत र बङ्गलादेश निर्यातका लागि सहज भएको प्रधानमन्त्री ओलीको भनाइ थियो ।
२०७६ फागुन ३ गते शनिवार १३:४० बजे प्रकाशित