कुखुराको मासु अहिलेसम्मकै महँगो : प्रतिकिलो ४२०, अन्डा प्रतिगोटा १५

काठमाडौँ । कुखुराको मासुको भाउ घटेको निहुँमा ह्याचरी व्यवसायीले चल्ला र अन्डा निर्मम रूपमा नष्ट गरेपछि कुखुराको मासुको मुल्य अलिेसम्मकै महँगो भएको छ । अहिले कुखुराको मासुको मूल्य प्रतिकिलो ४ सय २० रुपैयाँ प्रतिकिलो पुगेको छ ।
ह्याचरी उद्योगीले चल्ला नष्ट गरेर मूल्यवृद्धि गरेपछि दाना उद्योगीले पनि मूल्य बढाएका हुन् । कुखुरा व्यससायीले दानाको मूल्य वृद्धिको विरोध गर्दै आएका छन् । कुखुरा व्यवसायीका अनुसार एक वर्ष प्रतिकिलो ४०–४२ रुपैयाँमा किनेको दाना पुस मसान्तसम्म ५६ रुपैयाँ प्रतिकिलो थियो । माघ लागेपछि भने दाना उद्योगीले ६४ रुपैयाँ प्रतिकिलो पुर्याएका छन् ।
१० दिन गरेको आन्दोलनका कारण अहिले कुखुराको मासुको मूल्य ४ सय २० रुपैयाँ प्रतिकिलो पुगेको छ । गएको डेढ महिनामा कुखुराको मासुको मूल्य ५० प्रतिशतले बढेको हो । त्यसैगरी, अन्डाको भाउ प्रतिगोटा १५ रुपैयाँमा किनबेच भयो । यो मूल्य अहिलेसम्मकै उच्च हो ।
चल्ला उत्पादन गर्ने ह्याचरी उद्योगीले मंसिर २९ देखि ८ पुससम्म देशभर चल्ला उत्पादन बन्द गरेका थिए । चल्ला नष्ट गर्ने र १० दिन उत्पादन नगर्ने संघको निर्णयले देशभर चल्लाको हाकाकार भयो र १० रुपैयाँ प्रतिगोटाको चल्लाको भाउ डेढ महिनामा ६० रुपैयाँ पुग्यो ।
अन्डा उत्पादकले आइतबार प्रतिक्रेट ३ सय ५ रुपैयाँमा बिक्री गरेका थिए भने उपभोक्ताले न्यूनतम ३ सय ८० रुपौयाँमा किन्नुपरेको छ । उत्पादकले बेचेको अन्डा तीन तह पार गरेर उपभोक्तासम्म आइपुग्ने भएकाले थप महँगिने गर्छ । डिलरले खुद्रा विक्रेतालाई दिन्छन् । त्यहाँबाट किराना पसल हुँदै उपभोक्तासम्म पुग्छ ।
आइतबार काठमाडौंका खुद्रा व्यवसायीले प्रतिक्रेट ३ सय ५० रुपैयाँमा किनेर उपभोक्तालाई अन्डा ३ सय ८० रुपैयाँमा बिक्री गरेका छन् । एक साताअघि भने ३ सय ४० रुपैयाँ थियो ।
कुखुराको मासु अत्यधिक वृद्धि भइरहँदा सरकारी निकायले खासै चासोपूर्वक नहेर्नु दुर्भाग्यपूर्ण छ । यति ठूलो मूल्यवृद्धिले उपभोक्ता मारमा परिरहँदा पनि राज्यले कुनै जिम्मा लिएको छैन ।
सञ्चारमाध्यममा आएका विवरण हेर्दा २ सय ५० बाट कुखुराको मासु ४ सय रुपैयाँ नाघ्यो भन्ने देखिन्छ । मासुमा यति धेरै नाफा व्यवसायीकै लागि फाइदा छैन । उपभोक्ताले त केही समय महँगो मूल्य तिरेर किन्लान्, केही समयपछि त मूल्य घट्छ नै । त्यसपछि उपभोक्ताको समस्या समाधान होला । त्योभन्दा बढी मूल्य पुग्नु भनेको व्यवसायी र उपभोक्ता दुवै पक्षलाई हानिकारक छ । यो मूल्यले कसैलाई फाइदा गर्दैन ।
२०७६ माघ २२ गते बुधवार १०:२३ बजे प्रकाशित