४ सय ८७ क्विन्टल बासमती चामल प्रशोधन गरेर बिक्री गर्ने तयारीमा खाद्य कम्पनी
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले थापाथलीस्थित अञ्चल कार्यालयको गोदाममा कुहिएको ४ सय ८७ क्विन्टल २२ किलोग्राम बासमती चामल प्रशोधन गरेर बिक्री गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशन कुरिरहेको छ ।
खाद्य कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीले कुहिएको चामल पुरै नष्ट गर्न नदिइने बताए ।
उनले भने, ‘अहिले अख्तियारले छानबिन गरिरहेको छ, यसकारण हामीले केही चलाएका छैनौ, छानबिनपछि चामल प्रशोधन गरेर पशुदानाका लागि भए पनि प्रयोगमा ल्याउने योजना छ ।’
अख्तियार दुरुपयोग आयोगको निर्देशनलगत्तै चामल प्रशोधन गर्ने उनको भनाइ छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य कम्पनी गोदाममा कुहिएको चामलमाथि छानबिन सुरु गरेको दुई महिनासम्म कुनै कारबाही गर्न सकेको छैन ।
चामलको मापदण्डअनुसार खानयोग्य हुन सुक्खा, सफा र सग्लो भई रंगमा एकरूपता भएको हुनुपर्छ । ढुसी, कीरा नलागेको, कृत्रिम र रंग गरिएको हुनुहँुदैन । तर, चेकजाँचका लागि ल्याइएको १० नमुनामा एउटा पनि उपयुक्त भएको पाइएको छैन । खाद्य विभागका अनुसार अख्तियारले ल्याएको १० वटा नमुनामै ढुसी, कीरा र कृत्रिम रंग छ । यस्तो चामल नष्ट गर्नुबाहेक विकल्प नभएको विभागले प्रस्ट पारिसकेको छ ।
२०७६ माघ २० गते सोमवार १०:१७ बजे प्रकाशित