"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

एकसय विद्युत महशुल बुझाउन १५ सय खर्च गर्न बाध्य छन् उपभाेक्ता

डोटी । डोटी जिल्लाका अधिकांश ग्रामीण भेकमा रहेका उपभाेक्ताले विद्युत्को न्यूनतम महशुल मूल्य रु १०० बुझाउन रु एक हजार ५०० खर्च गर्नु परिरहेको छ ।

जिल्ला सदरमुकाम सिलगढी तथा पुरानो क्षेत्रीय सदरमुकाम दिपायलबाट टाढा बसोबास गर्ने उपभाेक्ताले वर्षौंदेखि यस्तो नियति झैल्दै आएका छन् ।

जिल्लाका बाझकाकाँनी, कालिकास्थान, खातिवडा, दहकालिका स्थान, रानागाउँ, मौवा, सलेना, फलेडी, कुलाउ, जमलकटिया, वाइल, वासुदेवी, झिगाबस्ती, मुडभारा, मरकट्टे, कपल्लेकीलगायतका गाउँबाट नेपाल विद्युत् प्राधिकरण मुख्य शाखा कार्यालय दिपायल पिपल्लामा आउनुपर्छ । महशुल तिर्न आउँदा करिब रु एक हजार ५०० खर्च हुने गरेको बाझकाकाँनीका नरेश खड्काले बताए ।

उनले भने,  त्यति मात्र होइन कहिलेकाहीँ विद्युत् कार्यालयको कम्प्युटर बिग्रियो वा पालो पुगेन भने दुई दिनसम्म दिपायलमै बास बस्नुपर्छ, हामीलाई निकै समस्या भएको छ ।” त्यस्तै सायल गाउँपालिकाका स्थानीय ललितबहादुर सिंहले गाउँमा टिभी पनि छैन, फ्रिज हुँदैन, पानी तान्ने मोटर छैन खाली बत्ती मात्र बाल्ने गर्छौं, महशुल कम रकम आउँछ, कसैको त रु १०० सम्म पनि पुग्दैन । त्यही रकम तिर्न रु एक हजार ५०० भन्दा बढी खर्च हुने गरेको गुनासो गरे । उनले भने “पहिला पहिला त नुन, तेल, साबुन, चिनी, लुगाकपडा ल्याउने निहुँले दिपायल आउँथ्यौँ, अहिले सबैकुरा यताको भन्दा गाउँमा पाइन्छ, रु १०० तिर्न एक हजार बढी खर्च गर्नुपर्ने हुन्छ ।”

नेपाल विद्युत् प्राधिकरण दिपायलका प्रमुख कपिलदेव जोशीले डोटीका ग्रामीण भेकमा तत्कालै विद्युत् महशुल बुझाउने काउन्टर खोल्न समस्या हुने बताए । उनले भने, “गाउँघर टाढा पनि छन् र हामीसँग कर्मचारीको पनि अभाव रहेकाले तत्काल विद्युत् महशुल बुझाउने काउण्टर खोल्न समस्या भएको हो ।” पिपल्लामा रहेको विद्युत् काउण्टरमा दैनिक सेवा ग्राहीको भीड लाग्ने गरेको छ ।

२०७६ माघ १६ गते बिहीवार १०:०६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु