नआत्तिन र उच्च सतर्कता अपनाउन चिकित्सकको सुझाव, कोरोनाकाे सङ्क्रमणबाट कसरी बच्ने ?
काठमाडौं । उत्तरी छिमेकी चीनमा कोरोना भाइरसको सङ्क्रमण बढेपछि नेपालीहरुमा पनि त्रास थपिएको छ तर चिकित्सकहरुले उच्च सावधानी अपनाउन सुझाव दिँदै आत्तिई हाल्नुनपर्ने जनाएका छन् ।
रुघाखोकीबाट शुरु हुने धेरै रोग चितवनमा देखिने गरेको पाइएको छ । यही जिल्लाको सरकारी भरतपुर अस्पतालमा वरिष्ठ फिजिसियनका रुपमा कार्यरत नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का उपाध्यक्ष डा भोजराज अधिकारी समयमै उच्च सतर्कता अपनाउन सकेमा सङ्क्रमणबाट बच्न सकिने बताउछन् ।
नयाँ दशकसँगै यो भाइरस चीनको वुहानबाट देखिएको भन्दै उनले भने, “मङ्गोलियन देशहरु मकाउ, ताइवान, कोरिया, थाइल्यानडलगायत देशमा मध्यम र अमेरिका, अष्ट्रेलिया, नेपालजस्ता देशहरुमा न्यून देखिएको छ ।” धेरै सङ्क्रमित भएको चीनसँग सीमा जोडिएको देश भएकाले नेपालीहरुले तीनवटा कुरामा विशेष ख्याल गर्न उनले सुझाव दिए । व्यक्तिगत सरसफाइ र खानपानमा ख्याल गर्नुपर्ने उनको भनाइ छ ।
राम्रोसँग साबुनपानीले हात धुने, काँचो मासु नखाने, जनावरसँग काम गर्नुपर्दा मास्क, पञ्जा जस्ता सुरक्षित कपडा लगाएर गर्नुपर्ने उनी बताउछन् । यस्तै दोस्रो श्वासप्रश्वासबाट रोग सर्न सक्ने भएकाले सावधानी अपनाउनुपर्ने देखिन्छ । यो मौसममा विवाह, व्रतबन्ध, धान्याञ्चल जस्ता सार्वजनिक कार्यक्रमहरु बढी हुने भएकाले यस्ता कार्यक्रममा कम सहभागी हुन र हुनैपर्दा सावधानी अपनाउन अधिकारीले सुझाव दिए ।
नेपालमा पशु र पक्षी पालनमा कार्यरत हुनेहरुले स्वास्थ्यको ख्याल नगर्ने गरेको बताउँदै उहाँले त्यस्ता कामदारहरुले उच्च सतर्कता अपनाउनुपर्ने बताए । यो जनवारबाट सर्ने एक रहस्यमयी भाइरस हो ।
नेपालमा यतिबेला जाडो मौसम भएकाले रुघाखोकी लाग्नु सामान्य मानिन्छ । जबकि कोरोना भाइरसले सङ्क्रमण गरिसकेपछिको शुरुआती लक्षण पनि रुघाखोकी नै हो । अधिकारीका अनुसार त्यसपछि क्रमशः उच्च ज्वरो आउने, टाउको दुख्ने, सास फेर्न गाह्रो हुने गर्दछ । समयमा उपचार हुन नसकेमा निमोनिया भई यसबाट मृत्युसमेत हुने गर्दछ ।
अन्य भाइरसमा फोक्सोले काम गर्न छाड्दै जाने भए पनि कोरोनाको सङ्क्रमणमा छिटो मिर्गौला फेल हुने र कलेजोमा बढी असर गर्ने उनले बताए । रुघाखोकीको सामान्य उपचारबाट निको नभएमा स्वाब (¥याल, सिङ्गान) परीक्षण गर्न सुझाव दिँदै उनले कोरोनाको लक्षण देखिएमा तत्काल चिकित्सकको सुझावअनुसार औषधि उपचार गर्नुपर्ने बताए
२०७६ माघ १३ गते सोमवार १६:३८ बजे प्रकाशित