"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

उपभोक्ता सचेत र बजार अनुगमन नहुँदा ठगिखाने व्यापारीलाई मालामाल, सरकार मौन

दार्चुला । गत वर्ष दार्चुला सदरमुकाम खलङ्गास्थित महाकाली नगरपालिकाले फाट्टफुट्टरूपमा जिल्ला प्रशासन कार्यालयसँगको सहकार्यमा बजार अनगुमन गर्यो तर यो वर्षको दोस्रो चौमासिकसम्म बजार अनुगमनको काम ठप्प छ ।

यतिबेला अनुगमनको सम्पूर्ण जिम्मेवारी स्थानीय तहलाई छ । जनप्रतिनिधिले कामको अझै मेसो पाएका छैनन्  । महाकाली नगरपालिका बाहेकका आठ वटा अरु स्थानीय तहले दुई वर्षदेखि बजार अनुगमन गरेका छैनन् । महाकाली नगरपालिकाले पनि यो वर्ष बजार अनुगमन गर्ने कुनै सुरसार छैन ।

विगतमा जिल्ला प्रशासन कार्यालयले दशैँ तिहारको समय पारेर सदरमुकाम र जिल्लाका मुख्य बजारमा अनुगमन गर्ने गरेको थियो । तर अनुगमनको अधिकार स्थानीय तहमा गएपछि नियमितरूपमा हुँदै आएको बजार अनुगमन रोकिएको छ ।

प्रशासनले अगुवाई गर्दै भइराख्ने बजार अनुगमनमा हरेक पटक म्याद गुज्रिएको सामान उल्लेख्य परिमाणमा फेला पर्ने गरेको थियो ।

पारि धार्चुलाबाट आउने अधिकांश सामान गुणस्तरहीन र म्याद नाघेको अवस्थामा भेटिने गरेको सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले बताए ।

अहिले बजार अनुगमन नहुँदा व्यापारीलाई मनोमानी भएको छ । बजार अनुगमनमा नियमित सहभागी हुँदै आएका एक सदस्यले भने, “अहिले त स्थानीय तहले अनुगमनका लागि मतलब नै नगरेपछि ठगिखाने व्यापारीलाई मालामाल भएको छ । उपभोक्ताले आफ्नो सामान खरीद गर्दा मतलब राख्दैनन्, अनुगमन हुँदा मात्रै सामानको गुणस्तर म्याद हेरिने गर्छ ।”

अनुगमन गर्ने निकाय चलायमान नहुँदा यतिबेला व्यापारीको मनपरी झन् बढेको छ ।

शैल्यशिखर नगरपालिकाका लालबहादुर विक भन्छन्, “अहिलेसम्म बजारमा अनुगमन भएको थाहा छैन ।” सदरमुकाम खलङ्गापछि दोस्रो ठूलो बजार रहे पनि स्थानीय सरकारले बजार अनुगमनमा ध्यान नदिएको उनको भनाइ छ । अनुगमनको काम रोकिँदा कालोबजारी सक्रिय भएको उनले गुनासो गरे । उपभोक्ता सचेत नहुँदा व्यापारीले मनोमानी सामान विक्री गर्नपाएको उनको भनाइ छ ।

“गत वर्ष नगरपालिकासँग आग्रह गरेर बजार अनुगमन गर्न टोली पठायौ”, सहायक प्रमुख जिल्ला अधिकारी कुँवरले भने, “यो पटक कुनै पनि स्थानीय तहबाट बजार अनुगमनको लागि टोली मागिएको छैन ।”स्थानीय तहको अधिकार क्षेत्र भएका कारण बजार अनुगमनका लागि उनीहरुले नै चासो दिनुपर्ने उनको भनाइ थियो ।

२०७६ पुस २८ गते सोमवार १६:२४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु