एक सातादेखि लेकको हिमपात र बेँसीको वर्षाले जनजीवन अत्यन्तै कष्टकर
हुम्ला । एक सातादेखि कर्णालीको मौसममा फेरबदल भएको छैन । यहाँका हिमाली जिल्लामा हिमपात भइरहेको छ भने पहाडी जिल्लामा दैनिक वर्षा भइरहेको छ ।
हिमपात र वर्षाले चिसो बढ्दै गएपछि कर्णालीको जनजीवन प्रभावित बन्दै गएको छ । हुम्ला, डोल्पा, मुगु र जुम्लाका बासिन्दा यसबाट बढी प्रभावित भएको बताइएको छ । जिल्ला प्रशासन कार्यालय हुम्लाका सहायक प्रमुख अधिकारी दत्तराज हमालले हिमपातले हुम्लाका नागरिकको दैनिकी निकै सकसपूर्ण बन्दै गएको राससलाई बताए । सहायक प्रजिअ हमालका अनुसार हिमपातको समयमा जिल्लावासीलाई बाहिर नजान र लामो यात्रा नगर्न सुझाइएको छ । हिमपातले दुई दिनदेखि साविकको कर्णालीमा मोबाइल तथा टेलिफोन सेवा अवरुद्ध छ ।
लेकको हिमपात र बेंसीको वर्षाले लामो तथा छोटो दूरीका यातायात सञ्चालन हुन सकेका छैनन् । हवाई यातायात एक सातादेखि ठप्प छ । हिमपातको चिसोले हुम्ला, डोल्पा, मुगु र जुम्लाका धारामा बरफ जम्ने, पाइप फुट्ने, विद्युत्का पोल भाँचिने तथा तार चुँडिने समस्या बढेको त्यहाँका स्थानीयले बताएका छन् ।
२०७६ पुस २५ गते शुक्रवार २०:१९ बजे प्रकाशित