अनुगमन : थापाथलीको खाद्य गोदाममा भेटियो ४८७ क्वीन्टल कुहिएको चामल
उपभोक्ता अधिकार कर्मि भन्छन्, : सरकार नियन्त्रीत सार्वजनीक संस्थानहरुबाट नै कानुनको ठाडो उल्लंघन

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड (साविकको नेपाल खाद्य संस्थान)मा ४८७ क्वीन्टल कुहिएको चामल भेटिएको छ । संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिले उपभोक्ता अधिकारकर्मीसहित आइतबार थापाथलीस्थित गोदाममा अनुगमन गर्दा कुहिएको चामल फेला परेको हो ।
गोदाममा चार वर्ष पुरानो र उपभोग्य मिति नभएको चामलसमेत भेटिएको छ । जापान सरकारले अनुदानमा दिएको टाइचिन चामलमा उत्पादन मिति लेखिए पनि उपभोग्य मिति नभएको पाइएको छ । उक्त चामल प्रति केजि रु ६० का दरले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले विक्रि गर्दै आएको छ । सिमीको गेडाको पाकेटमा लेबल भेटिएन भने बास्मती चामलमा हातले लेखिर पुन लेबल लगाएको भेटिएको छ ।
अनुगमन समितिले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ६ अनुसार लेबल नभएको उपभोग्य बस्तु बिक्री गर्न नपाइने भएकोले कारबाहीको लागि नमूना संकलन गरेको जनाएको छ । सरकार नियन्त्रीत सार्वजनीक संस्थानहरुबाट नै उपभोक्ता संरक्षण ऐन २०७५ को ठाडो उल्लंघन भएको पाईयो ।
लेवलमा उल्लेख गर्नुपर्ने व्याज नम्वर, मुल्य र उपभोग गर्ने मिति लगायतका महत्वपूर्ण कुराहरु उल्लेख नभएको पाईएको कञ्जुमर आई कि अध्यक्ष विमला खनालले बताउनु भयो ।
अनुगमनमा उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिका सभापति विमल श्रीवास्तवसहित ४ जना सांसद, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, वाणिज्य विभाग र उपभोक्ता अधिकारकर्मीहरु सहभागी छन् ।
२०७६ पुस १३ गते आइतवार १६:५२ बजे प्रकाशित