अप्रत्यासितरूपमा मूल्य बढेपछि प्याज खान छोडे उपभोक्ता, तीन महिनाअघि प्रतिकिलो ४० को प्याज २५० पुग्यो
काठमाडौं । अहिले बजारमा प्याजको मूल्य आकाशिएको छ । अप्रत्यासितरूपमा प्याजको मूल्य बढेसँगै सर्वसाधारण उपभोक्ताले अहिले प्याज खान छाडेका छन् । भारतले निर्यातमा प्रतिबन्ध लगायसँगै दशैँको समयपछि नेपाली बजारमा प्याजको मूल्य दिनप्रतिदिन बढ्दै गएको हो ।
नेपालमा प्याजको अभाव र भारतबाट आउने प्याजमा प्रतिबन्ध लागेपछि अहिले नेपाली बजारमा प्याजको मूल्य सधैँको भन्दा बढी छ । हाल नेपालगञ्जको रानीतलाउ तरकारी बजारमा प्याजको भाउ खुद्रा प्रतिकिलो रु २०० मा कारोवार भइरहेको छ ।
तीन महिनाअघि प्रतिकिलोको रु ४० देखि रु ५० मा कारोवार भएको प्याज तीन महिनाको अवधिमा किलोमा रु १५० पुगेको छ । तरकारी बजारभन्दा बाहिरका खुद्रा पसलमा रु २५० सम्म प्रतिकिलोको कारोवार भइरहेको उपभोक्ता बताउँछन् ।
नेपालगञ्ज–१० का शुद्धप्रसाद चौधरीले प्याजको मूल्य अप्रत्यासित रुपले बढेपछि अहिले प्याज नै खान छाडेको बताए । केही दिनअघि आधा किलो प्याजको रु १७० तिरेको बताउँदै प्याजको मूल्य बढेको देखेर अचम्मित भएको चौधरीले बताए ।
तर, प्याजमा भने एक महिनाको अवधिमा प्रतिकेजी रु २०० सम्म मूल्य पुगेको छ । भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्धको सोझो असर नेपाली बजारमा परेको नेपालगञ्जको रानीतलाउ तरकारी बजारका व्यापारी अरिसली राईले बताए। उनले भने, “अहिले मात्रै होइन २÷३ महिनाअघिदेखि नै प्याजको मूल्य बढ्दै आएको हो ।”
प्याजको मूल्य वृद्धि भएसँगै अहिले पहिलेको तुलनामा प्याजको व्यापार घटेको व्यापारी बताउँछन् । भारतबाट आउने प्याजमा प्रतिबन्ध लगाइएको भए पनि चोरी बाटो भएर प्याज भित्रने गरेको व्यापारीको भनाइ छ । मूल्य आकाशिएपछि उपभोक्ताहरुले प्याज खान छाडेसँगै तरकारीमा अत्यधिक खपत हुने प्याजको खपतमा ह्रास आएको छ ।
नेपाली बजारमा अहिलेको प्याजको मूल्य चार वर्षयताको सबैभन्दा महङ्गो मूल्य हो । नेपालगञ्ज–११ का मकसुद राई प्याजको मूल्य मासुभन्दा महङ्गो भएको बताउछन्।
२०७६ पुस १३ गते आइतवार १२:२७ बजे प्रकाशित