उपभोक्ताले प्याजको बिकल्पमा रोज्न थाले जिरा र मेथी
पर्वत । प्याजको अभाव झेल्दै आएका पर्वतवासीले यसको विकल्पमा विभिन्न चीज प्रयोग गर्न थालेका छन् । मुख्यगरी तरकारीजन्य परिकार, मासुजन्य परिकार, अचार, मःम, चुकौनी लगायतमा प्याजको प्रयोग हुने गर्दछ ।
प्याजको विकल्पमा जिरा, मेथी लगायत अन्य चिज प्रयोग गर्न थालिएको सदरमुकामस्थित हिमाल होटलका सञ्चालक झलक आचार्यले जानकारी दिए ।
कुखुराको मासु र प्याजको मूल्यसमेत बराबरी जस्तै भएपछि होटलमा खान आउने ग्राहकलाई समेत प्याज प्रयोग नहुने परिकार खान आग्रह गरिदै आएको छ ।
कुश्मा बजारमा अहिले प्याजको मूल्य रु २०० रहेको छ । ग्रामीण बजारमा रु २२० सम्म लिने गरेका छन् ।
निकै न्यूनमात्रामा बिक्री हुने र नाफा पनि खासै नहुने भएकाले तीन÷चार महिनादेखि प्याज बिक्री गर्नै छाडेको तरकारी व्यवसायी ज्ञानेन्द्र बास्तोलाले जानकारी दिए । उनले भने “प्याज खानभन्दा माछा मासु खान सस्तो भयो । आजकल त कसैले किन्दैनन् । बिक्री गर्न छाडियो । बरु प्याजको सट्टा जिरा र मेथीको बिक्री बढेको छ ।
२०७६ पुस ३ गते बिहीवार १९:०४ बजे प्रकाशित