दिनदिनै सडक दुर्घटना बढ्दै गएको भन्दै सरोकारवालाको चिन्ता व्यक्त
काठमाडौं । नेपालमा दिनदिनै सडक दुर्घटना बढ्दै गएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । यहाँ आज आयोजित साक्षात्कारमा उनीहरुले सडक दुर्घटना न्यूनीकरण गर्न यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी कार्यालय, यातायात व्यवसायीले संयुक्त रुपमा अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
उहाँहरुले तीव्रगतिमा सवारी साधन हाँक्ने तथा लापरवाही ढङ्गले सवारी कुदाउने प्रवृत्ति ठूला गाडी, बस, माइक्रोबससहित मोटरसाइकलमा बढ्दै गएको बताउँदै अनियन्त्रित ढङ्गले सवारी साधन कुदाउँदा सडक दुर्घटना बढेका बताए। महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीमप्रसाद ढकालले देशभरिका मानिस काठमाडौँ उपत्यकामा नै ओइरिनेसँगै जनसङ्ख्याको चाप बढेको र सोही अनुरुप सवारी साधनको चाप बढेर हाल काठमाडौँमा करिब १३ लाख सवारी गुड्ने र त्यसकारण यातायात व्यवस्थापन चुनौतीपूर्ण रहेको बताए ।
सडक विभागका महानिर्देशक केशव शर्माले सडक दुर्घटनाको पहिलो कारण मानवीय भएकाले चालकले सवारी चलाउँदा मादक पदार्थ सेवन गर्न नहुने, सवारीको गतिलाई नियन्त्रणमा राखेर सवारी चलाउनुपर्ने सुझाव दिँदै विश्वभरि सवारी दुर्घटना बढ्दै गएको सन्दर्भमा नेपालमा पनि बढेको चर्चा गरे । उनले सवारी दुर्घटना न्यनीकरणका लागि विभागले सडक मर्मत गर्ने, खाल्डाखुल्डी पुर्नेजस्ता काम गर्दै आएको जानकारी दिए ।
२०७६ पुस २ गते बुधवार १९:३५ बजे प्रकाशित