सरकारको विकास खर्च : चालू आर्थिक वर्ष २०७६/०७७ को पाँच महिनामा विकास बजेट ९ प्रतिशत मात्रै खर्च
५ महिनामा सरकारले उठायो २७ प्रतिशत राजस्व
काठमाण्डौ । चालु आर्थिक वर्षको पाँच महिनामा जम्मा ९ दशमलव शून्य ५ प्रतिशत अर्थात् जम्मा ३७ अर्ब ४८ करोड रुपैयाँ मात्रै विकास बजेट खर्च भएको छ ।
यो आर्थिक वर्षको लागि ४ खर्ब ८ अर्ब ५९ लाख रुपैयाँ विकास बजेट छुट्याइएकोमा मंसिर मसान्तसम्म अर्थात् ५ महिनामा जम्मा ३७ अर्ब ४८ करोड रुपैयाँ मात्रै खर्च भएको सरकारी आय व्ययको लेखाजोखा राख्ने महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।
सरकारले वर्षका ११ महिना खर्च नगरे पनि असारे विकासमा भने विकास खर्च गर्ने गरेको छ । जेठ १५ देखि असार मसान्तसम्म कुल विकास बजेटको ४० प्रतिशत खर्च हुने गरेको छ । सरकारले यो वर्ष विकास खर्चमा सुधार हुने दाबी गरे पनि पाँच महिनामा जम्मा ९ दशमलव ५ प्रतिशत मात्रै खर्च गर्न सकेको हो । सरकारले अब ७ महिनामा ३ खर्ब ७१ अर्ब रुपैयाँ खर्च गर्नुपर्नेछ ।
यस्तै चालु आर्थिक वर्षको लागि सरकारले ९ खर्ब ५७ अर्ब रुपैयाँ चालु खर्च छुट्याएकोमा पाँच महिनामा २ खर्ब ४६ अर्ब ९२ लाख अर्थात् २५ दशमलव ८० प्रतिशत खर्च भएको छ ।
त्यसैगरी वित्तीय व्यवस्थातर्फ १ खर्ब ६७ अर्ब ८५ करोड रुपैयाँ विनियोजन भएकोमा पाँच महिनामा १४ अर्ब १६ करोड रुपैयाँ अर्थात् ८ दशमलव ४४ प्रतिशतमा मात्रै खर्च भएको छ ।
५ महिनामा सरकारले उठायो २७ प्रतिशत राजस्व
चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा सरकारले लक्ष्य अनुसारको राजस्व संकलन गर्न नसकेको देखिएको छ।
महालेखा परीक्षकको कार्यलयअनुसार पहिलो आर्थिक वर्षको मंसिर मसान्तसम्म ३ खर्ब १७ अर्ब ९४ करोड राजस्व संकलन भएको छ।
यो वार्षिक लक्ष्यको २७.७७ प्रतिशत हो। सरकारले चालू आर्थिक वर्षमा ११ खर्ब १२ अर्ब ३ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो।
अर्थमन्त्रालयकाअनुसार यो समयमा ४ खर्ब २ अर्ब राजस्व संकलन गर्ने लक्ष्य लिइएको थियो। तर, तथ्याङ्क हेर्दा सरकारकाे लक्ष्यभन्दा ८५ अर्ब कम राजस्व संकलन गरेको देखिएको छ।
यो समयमा सरकारले करमार्फत २ खर्ब ८५ अर्ब राजस्व संकलन गरेको छ। उक्त रकम वार्षिक लक्ष्यको २८.६० प्रतिशत हो। यस्तै, गैरकर राजस्व भने १९.५९ प्रतिशत अर्थात १९ अर्ब राजस्व संकलन गरेको छ ।
अहिले प्रशस्त मात्रामा विद्युत सुविधा उपलब्ध भएका कारण इन्धनको आपूर्तिमा कमी भएकाले पनि लक्ष्यअनुसार भन्सार राजस्व संकलन नभएको बताइएको छ।
सरकारले आर्थिक वर्षको पहिलो पाँच महिनामा जम्मा विनियोजित बजेटको १७.९६ प्रतिशत मात्रै खर्च गरेको छ।
महालेखा नियन्त्रकको कार्यलयका अनुसार सरकारले मंसिर मसान्तसम्म जम्मा २ खर्ब ९६ अर्ब ३० करोड रुपैयाँ खर्च गरेको हो।
२०७६ पुस २ गते बुधवार १२:४१ बजे प्रकाशित