कांग्रेसको विवाद सहमतितर्फ
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ। १४ औं महाधिवेशनको कार्यतालिका प्रकाशित गर्नुपर्ने अडान लिँदै वरिष्ठ नेता रामचन्द्र पौडेलले लगातार तीन दिन बैठक बहिष्कार गरेपछि विवाद समाधानका लागि नेताहरूले प्रयास गरिरहेका छन्।
प्रवक्ता विश्वप्रकाश शर्माले आन्तरिक विवाद सहमतितर्फ पुगेको जानकारी दिए। मंगलबार बेलुकी उपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच भएको छलफलले सहमतिअनुसार नै अघि बढ्ने निर्णय भएको हो।
सभापति शेरबहादुर देउवाले उपसभापति निधिलाई र वरिष्ठ नेता पौडेलले पूर्वमहामन्त्री सिंहलाई विवादित विषय छलफल गरी निर्णयमा पुग्न जिम्मेवारी दिएका छन्। चाक्सीबारीमा भएको छलफल सहमतितर्फ उन्मुख छ,’ शर्माले भने, ‘अहिले केन्द्रीय कार्यसमिति बैठक बस्नुअघि पनि नेताहरूबीच छलफल हुन्छ।’
आउँदो वर्ष महाधिवेशन गर्न सभापति देउवा तयार भए पनि कहिले महाधिवेशन गर्ने भन्नेमा सहमति भइसकेको छैन। देउवाको चार वर्षे कार्यकाल फागुनमा सकिँदैछ। उनी एक वर्ष कार्यकाल लम्ब्याउने पक्षमा छन्।
‘सभापति देउवा पक्ष आउँदो फागुन पहिलो साता महाधिवेशन गर्ने पक्षमा हुनुहुन्छ,’ एक केन्द्रीय सदस्यले भने, ‘तर वरिष्ठ नेता पौडेलले मंसिरमै महाधिवेशन गर्नुपर्ने अडान राख्नुभएको छ।’
कांग्रेसमा अर्को विवादको विषय भातृसंस्थाबारे छ। पौडेल पक्षको बहिष्कारबीच बसेको गत बिहीबारको केन्द्रीय कार्यसमिति बैठकमा सभापति देउवाले ९ प्रस्ताव गरेका छन्।
तीमध्ये २८ विभाग बढाएर ४१ पुर्याउने र पूर्णता दिने, भातृसंस्था नेपाल तरूण दल र नेपाल विद्यार्थी संघबारे आवश्यक निर्णय लिने मुख्य प्रस्ताव छन्।
देउवाले गत कात्तिकमा कार्यकाल सकिएको तरूण दलको म्याद अब छ महिना थप गर्ने र नेविसंघमा ११ औं महाधिवेशन गर्ने समिति गठन गर्ने प्रस्ताव गरेका छन्।
देउवा र पौडेल पक्षबीच नेविसंघमा कुरा मिलेको छैन।
पौडेल पक्षले दुई भातृ संस्थामध्ये एक आफूहरूले नेतृत्व लिन पाउनुपर्ने अडान राखेको छ।
पौडेल पक्षका तरूण दलले मंगलबार महामन्त्री शशांक कोइराला निवासमा भेला गरेर कुनै हालतमा पनि एक भातृसंस्था लिनुपर्ने रणनीति लिएको थियो।
‘नेविसंघबारे कुरा मिलेको छैन। सभापति पक्षले अध्यक्ष, उपाध्यक्ष र चार महामन्त्री राख्नुपर्ने बताउनुभएको छ भने वरिष्ठ नेताले अध्यक्ष, उपाध्यक्ष र महासचिव राखेर महाधिवेशन गराउने समिति बनाउने बताउनुभएको छ। आज बैठक बस्नुअघि नेताहरू सहमतिमा पुग्नुहोला,’ ती केन्द्रीय सदस्यले भने।
२०७६ पुस २ गते बुधवार १३:३० बजे प्रकाशित