प्रधानमन्त्रीको निर्देशन : दूर्घटना न्यूनीकरण गर्ने कार्ययोजना बनाएर तत्काल लागू गर्नु
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दुर्घटना न्यूनीकरणको कार्ययोजना बनाएर लागू गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीले गृह र भौतिक पूर्वाधार तथा यातायात मन्त्री तथा मन्त्रालयका पदाधिकारीलाई दूर्घटना न्यूनीकरण गर्ने कार्ययोजना बनाएर तत्काल लागू गर्न निर्देशन दिनु भएको हो ।
छलफलमा प्रधानमन्त्री ओलीले पछिल्लो पटक सडक दूर्घटनामा भएका मानवीय क्षतिले चिन्तित बनाएको भन्दै दुर्घटना कम गर्नेगरी पूर्वाधार तथा सडक नियम पालना गराउन निर्देशन दिनु भएको थियो । उहाँले ठोस कदम नचाल्दा सक्षम जनशक्तिले अकालमा ज्यान गुमाउनु दुःखद भएकाले तत्काल कार्ययोजना बनाउनुपर्ने बताउनुभयो ।
उहाँले सार्वजनिक यातायातका चालकहरुलाई तालिम, लाइसेन्सको पुनर्परीक्षण, सडक पूर्वाधार प्रयोगको अनूमतिमा परीक्षण गर्न समेत निर्देशन दिनुभयो । प्रधानमन्त्रीको निर्देशन अनुरुप आर्थिक वर्षमा भएका सडक दूर्घटनाको छानविन गरि प्रतिवेदन सार्वजनिक गर्ने प्रतिवद्धता गृहमन्त्रालयले व्यक्त गरेको छ ।
छलफलमा गृहसचिव प्रेमकुमार राईले सडक दूर्घटनाको वर्तमान अवस्था, न्यूनीकरणका उपाय र रोकथामका लागि भएका प्रयासबारे प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
२०७६ मंसिर ३० गते सोमवार १७:४२ बजे प्रकाशित