दश वर्षदेखि बजार अनुगमन नहुँदा उपभोक्ता ठगिँदै

वीरगञ्ज । खाद्य तथा गुणनियन्त्रण डिभिजन कार्यालयले दश वर्षदेखि बजारको अनुगमन नगरेका कारण वार्षिक रु ५० लाख राजश्व गुम्दै गएको छ भने अर्को तिर उपभोक्ता ठगिँदै आएका छन् ।
सङ्घीय सरकारको अनुगमन गर्ने निकाय खाद्य प्रयोगशाला, वाणिज्य कार्यालय, गुणस्तर तथा नापतौल कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय तथा स्थानीय निकायलाई जिम्मेवारी दिए पनि सम्बन्धित निकायले अनुगमन नगर्दा उपभोक्ता ठगिँदै आएका वीरगञ्ज महानगरपालिका–२४ रामगढवाका उपभोक्ता शेषमन पण्डितको आरोप छ ।
व्यापारीले बजारमा बेच्न राखेका खाद्य पदार्थको प्याकेटको तौल कम हुने, ग्यासको तौल कम हुने, म्याद गुज्रेका समान, होटलमा अखाद्य रङ प्रयोग हुने गरेको, सरसफाइको कमी रहेकाले सम्बन्धित निकायको अनुगमनको अभावमा व्यापारीको मनोबल बढ्न गएको छ भने अर्को तिर त्यस्ता वस्तुको प्रयोगले स्वास्थ्यमा गम्भीर असर पर्ने गरेको अर्का उपभोक्ता कपिलदेव यादवको आरोप रहेको छ ।
यसैगरी किराना पसल, गल्ला व्यापारी, कपडा पसलले प्रयोग गर्ने नापतौलसम्बन्धी यन्त्र प्रत्येक दुई वर्षमा जाँच गराउनुपर्नेमा विगत लामो समयदेखि सो यन्त्रको जाँच नगराई सरकारी राजश्वसमेत ठग्दै आएको सो कार्यालयले जनाएको छ ।
प्रमुख यादवले आफु आएदेखि १५ महिनाभित्र कम तौल दिएर उपभोक्ता ठग्ने पेट्रोल पम्पलाई कारवाही गरिनाका साथै सफ्टवेयर प्रणालीबाट चोरी गर्ने पेट्रोल पम्पलाई कारवाही गरिएको बताए । सम्बन्धित निकायले बजार अनुगमन गर्दा व्यापारीको मनोबल बढ्न गएकाले यसप्रति सम्बन्धित निकायले उपभोक्ता ठग्ने व्यापारीलाई कानूनको दायरामा ल्याएर कारवाही गर्नुपर्ने माग आम उपभोक्ताको छ ।
२०७६ मंसिर ३० गते सोमवार १५:४३ बजे प्रकाशित