देशभरको मौसम बदली, उच्च पहाडी र हिमाली भूभागमा हिमपात

काठमाडौं । पश्चिमी न्यून चापीय वायुको प्रभावले बिहीवार देशभर बदली रही उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपातसँगै हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
बुधवार साँझ देशका पश्चिमी भूभाग हुँदै प्रवेश गरेको वायुको प्रभावले उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपात तथा पूर्वी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् मञ्जु बासीले बताइन् ।
उनका अनुसार यो प्रणाली अझै सशक्त भई देशका मध्य र पूर्वका उच्च पहाडी भूभागमा समेत हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
उक्त प्रणालीका कारण आगामी ३ दिन देशैभरि बदली भई अधिकतम र न्यूनतम तापक्रममा कमी आई चिसो बढ्ने जनाइएको छ । हाल देशका पश्चिमी भूभाग लगायत मध्य तथा पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहेको बताइएको छ ।
राति देशका पश्चिमी भूभागका केही स्थानमा र मध्य तथा पूर्वी पहाडका एक वा दुई स्थानमा हल्का वर्षा र पश्चिमी उच्च पहाडीसहित हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
शुक्रवार देशभर सामान्यदेखि पूर्णबदली रही देशका केही स्थानमा हल्का वर्षा र पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागमा भारी हिमपातका साथै मध्य तथा पूर्वका उच्च पहाडीसहित हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको बताइएको छ ।
शनिवार देशभर सामान्यदेखि पूर्ण बदली रही पश्चिमी भेगका धेरैजसो स्थानका साथै मध्य तथा पूर्वका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार बिहीवार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ७ दशमलव ७ डिग्री र अधिकतम तापक्रम १८ दशमलव ९ डिग्री सेल्सियस रहेको छ । बिहीवार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ३ दशमलव ९ डिग्री सेल्सियस मापन गरिएको छ ।
२०७६ मंसिर २६ गते बिहीवार १६:२६ बजे प्रकाशित