उपभोक्ताको गुनासो : गाडी आएर के गर्नु, पेट भर्नका लागि चाहिने खाद्यान्न छैन
जाजरकोट । सडक निर्माणसँगै अधिकांश ठाउँमा पानीका मुहान पुरिँदा सिँचाइ सुविधाबाट सयौँ गाउँलेका खेतबारी बाँझै रहेका छन् । पानीकै अभावमा पानी घट्टसमेत बन्द भएको उपभोक्ता बताउँछन् । सडकमा हिउँद याममा मात्र यातायातका साधन सञ्चालन हुने गरेका छन् भने कृषकका खेतबारी वर्षायाममा आकाशे पानीको भरमा मात्र मकैखेती लगाउन मिल्ने भएको कृषक बताउँछन् ।
नलगाड नगरपालिका–८ का धर्मबहादुर खत्री सानो हुँदादेखि गाउँमा पानी ल्याएर जग्गा जमीनमा सिँचाइ गर्ने कुरा उठ्दै आएको थियो ।
उनका अनुसार सानो छँदा उठेको कुरा उनले उमेरले सात दशक टेक्न लाग्दासम्म पूरा हुन सकेको छैन । उनका बाबाको सपना, उनको सपना र उनका छोराका सपना सबै पानी ल्याएर घर नजिकैको खेतबारी सिँचाइ गरेर वर्षे र हिउँदेबाली लगाएर मनग्य आम्दानी गरी वर्षभरि आफैंले उत्पादन गरेको खाद्यान्न प्रयोग गर्नुथियो । विकासको नाममा सडक आएको छ, मोबाइल फोनमा घरभित्रैबाट देश, विदेशमा कुरा गर्न सकिन्छ तर पेट भर्नका लागि चाहिने खाद्यान्न उत्पादन गर्ने मुख्य जमीन भने वर्षेनी हिउँद याममा बाँझो रहँदै आएको उनले बताए ।
त्यस्तै अर्का ५६ वर्षीय कलीमान कामी भन्छन्, “गाडी, मोटर त हिउँद याममा घर नजिकै आउँछन्, चढेर आउने सजिलो त भयो, खेतबारीमा उत्पादन भने केही पनि छैन, सबै जग्गा जमीन बाँझै छ,उत्ता पठाउँदा खाली जान्छ ।” कति पटक हामीले सिँचाइका लागि सबैलाई अनुरोध गरिसकेम तर कसैले पनि ध्यान दिँदैनन् उनले थपे, “हामीले हाम्रो जमीनमा आफैँले उत्पादन गरेको अन्नले वर्षभरि खाना पुग्ने वातावरण सरकारले तयार गरोस्, त्यही माग रहेको छ ।”
काम गर्ने तर भोकै मर्ने विधिको अन्त्य होस् भन्दै अर्का कृषक हरिबहादुर खत्री भन्छन्, “किसानको जीवनस्तर माथि नउठेसम्म, नयाँ नेपालको सपना पूरा हुन सक्दैन ? त्यसैले कृषकको अवस्था बदल्नतिर सबै तहका सरकार लाग्नुपर्ने हाम्रो माग हो ।” पर्याप्त सिँचाइ, कृषि प्राविधिक र बीउको व्यवस्थापन गरी कृषकको ऊर्जाशील समयलाई सदुपयोग गर्नसमेत खत्रीले अनुरोध गरे । खेतबारी सिँचाइ गर्नका लागि पानी छैन, घरमा बसेर के काम भो र ? हामी खाद्यान्न लगाएका वस्तुको खरिद गर्ने रकम कमाउन भारत जाने गरेको पीडा कृषक मनबहादुर खत्रीले दुखेसो पोखे ।
जिल्लामा रहेका सिँचाइ कार्यालयले योजना प्राथमिककीरण गर्न नसक्दा जिल्लाका सबै ठाउँमा सिँचाइ सुविधा पुग्न नसकेको आरोप लाग्ने गरेको छ । पहुँचको भरमा सिँचाइ आयोजना छनोट हुने र निर्माण भएका आयोजनासमेत दिगो नहुँदा वर्षेनी करोडौँ रकम फजुलमा खर्च भएको नागरिक अगुवाको तर्क छ ।
जिल्लाका अधिकांश ठाउँमा सिँचाइ सुविधा नहुँदा वर्षायाममा मात्र खेती हुने गर्दछ भने हिउँद याममा बाँझो रहने गरेको छ । यसले गर्दा बाहिरबाट आयतित खाद्यान्नले यहाँका स्थानीयवासी छ महिनाभन्दा बढी निर्भर हुने गरेका छन् ।
२०७६ मंसिर २६ गते बिहीवार १२:५९ बजे प्रकाशित