जिल्लाकै एक मात्र कोल्टीबजार दुर्गन्धित बन्याे, उपभोक्तालाई सास्ती
बाजुरा । जिल्ला सदरमुकाम मार्तडीपछिको दोस्रो ठूलो व्यापारिक केन्द्र कोल्टी दुर्गन्धित बन्दै गएको छ । बजार व्यवस्थापनमा कसैको चासो नहुँदा बजार दुर्गन्धित बन्दै गएको हो । बजारमा ढलको पानीले सुक्खायाममा पनि कोल्टीबजार हिलाम्मे बनेको छ । बजार अव्यवस्थित हुँदै जान थालेपछि सर्वसाधारणले सास्ती भोग्नुपरेको छ ।
स्थानीय तहले ढल निकासका लागि कुनै पहल नगरेको स्थानीयवासीको गुनासो छ । जिल्लामा एक मात्र विमानस्थलसमेत रहेको सो बजारको यो स्थितिले त्यहाँका जनतामा निराशा छाएको छ । कोल्टीका स्थानीयवासीले तीन वर्षदेखि बिजुली र दुई वर्षदेखि नियमित पानीको समस्या व्योहोर्नुपरेको व्यापारीको गुनासो छ ।
मुख्य बजारमा जताततै सवारी साधन पार्किङ हुँदा सर्वसाधारणका लागि हिँड्ने बाटोसमेत छैन ।
नगरपालिकासँग पटक–पटक आग्रह गर्दा पनि ध्यान नदिएको गिरीको भनाइ छ । नगरपालिकाले त्यसका लागि ठूलो बजेट आवश्यक पर्ने भएकाले बजेटको व्यवस्थापनमा जुटेको आश्वाशन दिएको छ । कोल्टीबजारलाई व्यवस्थित गर्नका लागि आवश्यक पहल भइरहेको र केन्द्र सरकारलाई माग गरेकाले केही महिनामै यसको समाधान निस्कने नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामदत्त न्यौपानेले बताएका छन् ।
२०७६ मंसिर २५ गते बुधवार १२:३१ बजे प्रकाशित