नेपालगञ्ज विमानस्थल चारैतिर घाँसले भरियो, जहाज उडानमा चुनौती
बाँके । नेपालगञ्ज विमानस्थल चारैतिर घाँसले भरिन थालेपछि जहाज उडान र अवतरणका समयमा चुनौती भएकाे छ । सरकारले स्तरोन्नतिका लागि नेपालगञ्ज विमानस्थलको गुरुयोजना बनाएको वर्षौँ बितिसकेको छ । तर, योजनाअनुसार अहिलेसम्म कुनै काम हुनसकेको छैन । रनवे चारैतिर घाँसले भरिएको विमानस्थलमा स–साना काम नहुँदा जहाज अवतरणस्थल (रनवे)मा समस्या आएकाे छ ।
जङ्गल नजिकै भएकाले विमानस्थलको झाडीमा बँदेल, बाँदरजस्ता वन्यजन्तु बस्ने गरेकाले जहाज उडान र अवतरणका समयमा चुनौती अझ थपिएको छ । निर्माणको जिम्मेवारी लिएको पप्पु कन्स्ट्रक्शनले रनवेमा ग्रेडिङको काम पूरा नगर्दा समस्या भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । विमानस्थल घाँसेमैदानमा समेत परिणत भएको छ ।
बँदेल आतङ्कले विमानस्थलमा दुर्घटनाको जोखिम पनि उस्तै बढेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रमुख प्रेमनाथ ठाकुर बताए । उनका अनुसार गत मङ्गलबार साँझ बुद्ध एयरलाइन्सको जहाज अवतरण हुने क्रममा बँदेलसँग ठोक्किएको थियो । तर, मानवीय क्षति भने भएन । बँदेलको बच्चाले भने ज्यान गुमाएको थियो ।
एक वर्षअघि सम्पन्न भइसक्नुपर्ने ठेक्का अहिलेसम्म अधुरै रहेको नागरिक उड्डयन प्राधिकरण प्रमुख ठाकुरले बताउनुभयो । धावनमार्ग पक्की गर्ने, मार्किङ गर्ने, झाडी फालेर ग्रेडिङ गर्ने ९सम्याउने० कार्यको ठेक्का पप्पु कन्स्ट्रक्शनले रु १३ करोडमा ठेक्का लिएको प्राधिकरण प्रमुख ठाकुरले बताए । ठेक्कामध्येको रु ११ करोड ३३ लाख भुक्तानी भइसकेको छ । काम भने अझै अपुरै रहेको छ । ठेकेदारले अटेर गरेपछि प्राधिकरणले पप्पुलाई आवश्यक कारवाहीका लागि सिफारिश गरेको उनको भनाइ छ ।
२०७६ मंसिर २४ गते मंगलवार १२:५८ बजे प्रकाशित