"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

अस्वाभाविक मुल्यबृद्धि : बजार अनुगमनमा सरकारको फितलो प्रस्तुती, उपभोक्तालाई अत्याधिक सास्ती

काठमाडौं । देशभरको मौसम चिसिँदै गईरहेका बेला महँगी र कालोबजारको तापक्रमले भने उपभोक्ताका सास्तीपुर्ण गुनासाहरुको दर निरन्तर बढिरहेको छ । सरकारी निकायको मौनता र हेलचक्य्राईंले कालोबजारीहरूको राज छ बजारमा। चिसो मौसमका बेला एकजोर न्यानो लुगा लगाउने र मीठोमसिनो र तातो खाने बेला बजारमा जति महँगो भए पनि आम उपभोक्तालाई चुपचाप सहनुको विकल्प छैन। सर्वसाधारण महँगीको मारमा छन्। यसले कम आय भएका व्यक्ति सबैभन्दा बढी मर्कामा छन्।

केही दिनयता राजधानीमा अस्वाभाविक रूपमा तरकारीको भाउ बढेको छ। खुद्रा व्यापारीले चार गुणा बढी असुली गरेको खबर छ्याप्छ्याप्ती छ। गत वर्ष मंसिरमा प्याजको खुद्रा मूल्य ५०–६० रुपैयाँ प्रतिकिलो थियो । यसपालि प्याजको मूल्य १९०–२०० रुपैयाँ कायम छ ।

कालिमाटी तरकारी बजारले सार्वजनिक गरेको मूल्यसूची अनुसार गत वर्ष मंसिरमा ३०–४० रुपैयाँमा पाइएको रायो सागलाई यसपालि ४०–५० रुपैयाँ पर्छ । गत वर्षको तुलनामा यस वर्ष प्याज लगायत दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि भएको देखिन्छ । गत वर्षको तुलनामा बजारमा मूल्यवृद्धि मंसिरमा आएर एकाएक भएको होइन । नेपाल राष्ट्र बैंकका अनुसार असोज महिनामा वस्तु तथा सेवाको मूल्य ९मुद्रास्फीति० मा ६.२१ प्रतिशतले वृद्धि भएको थियो, जुन गत वर्ष ४.६८ प्रतिशत थियो ।

वस्तु तथा सेवामा हुने दीगो तथा तीव्र वृद्धिलाई मुद्रास्फीति भनिन्छ । मुद्रास्फीति बढ्दा मुद्राले वस्तु खरिद गर्न सक्ने क्षमतामा ह्रास आउँछ । बैंकको तथ्यांक अनुसार चालू वर्ष उपभोक्ता मुद्रास्फीति १.५३ प्रतिशतले वृद्धि भएको छ ।
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार असोज महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.०४ प्रतिशत थियो । अघिल्लो वर्षको असोज महिनामा खाद्य तथा पेय पदार्थको मुद्रास्फीति ३.४२ प्रतिशत रहेको थियो ।

सरकारको फितलो प्रस्तुती

महंगी नियन्त्रणका लागि सरकारी निकायको अनुगमन र निगरानी उपलब्धी मुलक हुन सकेको देखिदैन भन्दै उपभोक्ता अधिकारकर्मीहरु बताउछन् । सरकारले नियन्त्रण सम्बन्धी काम नगरेको उनिहरुको आरोप छ । नियामक भूमिकामा सरकार सक्रिय भएर उपभोक्ताको हितका लागि नीति नै बनाएर जान सरकार सुझाब समेत दिएका छन् ।

अर्थविद् चन्द्रमणि अधिकारीले पछिल्लो समय उपभोग्य वस्तुमा मूल्यवृद्धि भएको र गुनासो आउनु स्वाभाविक भएको बताए । उनका अनुसार उपभोग्य सामानको उत्पादन न्यून भएका कारणले मूल्यवृद्धि भएको हो । ‘बजारमा अलिकति अभाव देखिन थाल्यो भने हामी अन्धाधुन्ध सामान किन्छौं । सामानको मूल्य हेर्दैनौं, गुणस्तर हेर्दैनौं, भण्डारण गर्न लागि हाल्छौं,’ उनले भने, ‘उपभोक्तामा चेतना कमी हुँदा व्यवसायीहरूले चलखेल गर्ने मौका पाए ।’ राज्यसँग बजार अनुगमन गर्ने क्षमता नै नदेखिएको उनले बताए ।

उपभोक्तामा चेतना

जापानमा कुनै वस्तुको भाउ बढ्यो भने पहिला विकल्प खोज्ने र विकल्प भेटेसम्म भाउ बढेको वस्तु खरिद नै नगर्ने परम्परा बसेको बताउँदै उनले नेपालमा पनि विकल्प खोज्नुपर्नेमा जोड दिए । ‘विकल्प भएसम्म मूल्य बढेको सामान किन्न छोडौं, त्यसपछिको केही समयमा नै माग र आपूर्तिको सन्तुलनले त्यस वस्तुको मूल्य घट्न जान्छ,’ उनले भने ।

बंगलादेशकी प्रधानमन्त्रीले प्याज नखाने घोषणा गरेको उदाहरण दिँदै उनले भने, ‘हामीले पनि महंगो वस्तु प्रयोग नगर्नेतर्फ लाग्नुपर्छ । आन्तरिक उत्पादन बढाउन माटोसँग माया माया, पानीसँग पिरति र प्रविधिसँग युवा जागरण गीत हुनुपर्छ । यो उत्पादनबाट, लगानीबाट मात्रै सम्भव हुन्छ ।’

किसानलाई सहुलियत
तर विडम्बना महँगी यति बढ्दा पनि रातदिन पसिना चुहाउने किसानकहाँ भने त्यसको लाभ पुग्दैन। फाइदा लुटेका छन् त बिचौलियाले। किसानबाट सस्तोमा तरकारी किनेर राजधानीमै मनपरी भाउ बढाउने बिचौलियाको राज छ सहरमा। देखावटी ‘बजार अनुगमन’ ले तरकारी व्यापारीलाई अझै छुन सकेको छैन। बिचौलिया बलिया कि राज्य भन्ने प्रश्न उठ्न थालेको छ। जनताको जीवनस्तर उकास्न भन्दै परिवर्तनका आन्दोलनमा अग्रसर गराउनेहरूको चेत खुल्नैपर्छ।

एजेन्सीहरुको सहयोगमा

२०७६ मंसिर २४ गते मंगलवार १३:५२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु