अबदेखि अछामको साँफे–मार्तडी सडकमा १ सय ६५ भाडा कायम, उपभोक्तासँग पुरानै भाडा लिए कारवाही गर्ने चेतावनी

बाजुरा । मार्तडीदेखि अछामको साँफे बगरसम्मको नयाँ भाडादर निर्धारण गरिएको छ । कूल ५७ किलोमिटर सो सडक खण्डको भाडादर रु १६५ कायम गरिएको छ यस अघि जीपले रु ६०० र बसले रु ५०० भाडा लिदै आएका थिए ।
यातायात व्यवस्था विभागकै परिपत्रअनुसार नयाँ भाडादर कायम गरिएको प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानेले जानकारी दिए । उनका अनुसार अब यात्रुले मार्तडीदेखि साँफेबगरसम्म रु १६५ भाडा तिरे पुग्छ । नयाँ भाडादरअनुसार यात्रु नबोकेमा र भाडा पुरानै लिइएको पाइएमा कारवाही गर्ने चेतावनी समेत दिएका छन् ।
बाइस वर्षपछि निर्माण सम्पन्न भएको सो सडकमा कालोपत्रे भइसक्दा पनि महँगो भाडा तिर्न बाध्य थिए । अव साँफेसम्मको भाडा घटेसँगै रु एक हजार ३०० रहेको धनगढीसम्मको भाडामा रु ३३५ झर्ने भएको छ । मार्तडी साँफेसम्मको ५७ किलोमिटर र साँफेदेखि धनगढीसम्मको २६० किलोमिटर सडकमा बराबरी भाडा थियो । कच्ची बाटोकै बाहनामा व्यवसायीले मार्तडी कोल्टी ४३ किलोमिटरमा रु ८००, मार्तडी डोगडी करिब ३६ किलोमिटरमा रु ७०० भाडा उठाउँदै आएका छन् ।
२०७६ मंसिर २३ गते सोमवार ०८:५२ बजे प्रकाशित