नुवाकोटका सबै स्थानीय तह पहिराको उच्च जोखिममा, विपद्को पूर्वतयारीमा जुट्न स्थानियलाई सुझाव

नुवाकोट । नुवाकोटका बाह्रैवटै स्थानीय तहका विभिन्न स्थान पहिराको उच्च जोखिममा रहेका एक अध्ययनले देखाएको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा आत्मनिर्भर सेवा केन्द्रले तयार गरेको तथ्याङ्कअनुसार जिल्लाका दुई नगरपालिका र १० गाउँपालिकामा रहेका विभिन्न बस्ती पहिराको जोखिममा रहेका पाइएको हो । तथ्याङ्कअनुसार किस्पाङ गाउँपालिका पहिराबाट सबैभन्दा बढी जोखिम रहेको पाइएको छ । किस्पाङको वडा नं १ भाल्चे, वडा नं ३ काहुले र वडा नं ५ मनकामना पहिराबाट बढी जोखिममा रहेका उल्लेख छ ।
म्यागङ गापाको वडा नं २ बुङताङ, वडा नं ३ देउराली र वडा नं ४ किम्ताङ पहिराको जोखिममा रहेका पाइएको छ । गाउँपालिकाका प्राविधिक रमनसिंह तामाङका अनुसार वडा नं ४ को किम्ताङमा विसं २०३० देखि बग्दै आएको पहिरो अझै नियन्त्रणमा नआएकाले आसपासका करीब १०० घरधुरी परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न आवश्यक सुझाव दिइएको छ ।
विसं २०७२ वैशाख १२ मा गएको विनाशकारी भूकम्पबाट ध्वस्त बनेको जिल्लाका धेरै क्षेत्रका जमीनमा कम्पन भएर धाँजा फाटेको र भौगोलिक बनोट पहाडले घेरेको स्थल भएकाले जुनसुकै समयमा विपद् निम्तन सक्ने भन्दै जोखिम न्यूनीकरण र विपद्को पूर्वतयारीमा जुट्न सम्बन्धित स्थानीय तहलाई सुझावसहित प्रतिवेदन तयार गरिएको आत्मनिर्भर सेवा केन्द्रका पैरवी अधिकृत कल्पना न्यौपाने जानकारी दिए ।
२०७६ मंसिर २१ गते शनिवार १५:२५ बजे प्रकाशित