धानको क्षतिपुर्तिको माग गर्दै किसानहरुले दिए कृषि ज्ञान केन्द्रमा निवेदन
नुवाकोट । सरकारले नक्कली धानको बीउ परेका कारण पीडितहरुलाई उचित क्षतिपुर्ति नदिएपछि किसानहरुले कृषि ज्ञान केन्द्रमा निवेदन दिएका छन् । गरिमा जातको धान भनेर नक्कली बीउ परेका कारण पीडित भएको भन्दै नुवाकोटका १२० भन्दा बढी किसानले क्षतिपूर्तिको लागि कृषि ज्ञान केन्द्रमा निवेदन दिएका हुन्।
गरिमा जातको धान भनेर नक्कली बीउ लगाएका कारण नोक्सान ब्यहोरेका किसानलाई सरकारले क्षतिपूर्ति उपलब्ध गराउने तयारी गरेपछि पीडित किसानबाट निवेदन सङ्कलन भइरहेको केन्द्रका प्रमुख तेजप्रसाद दुवाडीले जानकारी दिए । उनको अनुसार उन्नत जातमा पर्ने गरिमा नामक बीउ भनेर भारतबाट ल्याएको नक्कली धानको बीउ रोपेका किसानले एक हजार १०० रोपनीमा लगाएको धानमा नोक्सान पुगेको भन्दै क्षतिपूर्ति माग गरेका छन् ।
प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले गरिमा जातको धान भनेर नक्कली बीउ लगाई नोक्सान ब्यहोरेका किसानलाई क्षतिपूर्ति दिने निर्णय गरेपछि राहत पाउने आशामा पीडित बनेका किसान उत्साहित हुँदै निवेदन दर्ता गराएका छन् । गरिमा जातको धानको बीउ लगाएका कारण जिल्लाको बेलकोटगढी नगरपालिका र तारकेश्वर गाउँपालिकाको किसान बढी प्रभावित भएका छन् । नक्कली बीउ बिक्री गर्ने एग्रोभेट तथा वितरकको समेत लापरबाही पाइएकाले उनीहरु माथि पनि कारवाही गर्ने केन्द्रले चेतावनी दिएको छ ।
२०७६ मंसिर २१ गते शनिवार १०:४३ बजे प्रकाशित