"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

सरकारले खरीद मूल्य १० प्रतिशत बढाएपछि धान बेच्ने किसानको लर्को

वीरगञ्ज । सङ्घीय सरकारले यस वर्ष किसानबाट धान खरीद गर्न बजार भाउभन्दा करिब १० प्रतिशत बढी समर्थन मूल्य निर्धारण गरेको छ । मूल्य निर्धारणसँगै यसपालि वीरगञ्ज महानगरपालिका–२४ बहुअरीका किसान कपिलदेव यादवले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगञ्ज शाखालाई धान बेच्ने सोच बनाएका छन् ।

यसपालि सरकारले किसानबाट धान खरीद गर्ने मूल्य निजीस्तरका गल्ला व्यापारीभन्दा बढी राखेकाले खाद्य व्यवस्था तथा व्यापार कम्पनी वीरगञ्जस्थित कार्यालयमा धान बेच्ने किसानको लर्को लागेको छ । बजार भाउभन्दा प्रतिक्विन्टल ३७३ रुपैयाँ १६ पैसा बढी मूल्यमा कम्पनीले धान खरीद गर्ने भएपछि धान बेच्न कार्यालयमा आएको अर्का किसान शेषमन पण्डितको भनाइ छ ।

विगत वर्षसम्म निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न नसक्दा कार्यालयलाई लक्ष्य पूरा गर्न धौधौ परिरहेको थियो तर यस वर्ष धानको खरीद गर्ने मूल्य सरकारले १० प्रतिशत बढाएपछि धान उत्पादक किसानले आफ्नो धान कम्पनीको कार्यालय वीरगञ्जमा ल्याएर नगदमै धान बेच्ने गरेकोले तोकिएको लक्ष्य समयमै पूरा हुने विश्वास कार्यालयले लिएको छ । पर्सा जिल्लामा यस वर्ष किसानले ४५ हजार हेक्टर क्षेत्रफलमा धानखेती गरेको जनाइएको छ ।

कार्यालयका शाखा प्रमुख नरनाथ अधिकारीको अनुसार धान बोकेर गोरुगाडा, ट्र्याक्टरसहित किसान एकाबिहानै कार्यालयमा आइपुग्ने गरेकाले कार्यालय परिसरमै धान खरीद गर्न थालिएको छ । यस वर्ष राम्रो मूल्य पाएकै कारण सोचेभन्दा धेरै बढी किसान आउने गरेको बताए ।

सरकारले यस वर्ष सोना मन्सुली धान प्रतिक्विन्टल दुई हजार ६७३ रुपैयाँ १६ पैसा र जिरा मसिनो धान प्रतिक्विन्टल तीन हजार २० रुपैयाँमा खरीद गर्ने मूल्य तोकेको छ । यस वर्ष सोना मन्सुली १५ हजार तथा जिरा मसिनो धान पाँच हजार गरी २० हजार क्विन्टल धान खरीद गर्ने लक्ष्य राखेकामा बुधबारसम्म सोना मन्सुली धान २६१ क्विन्टल ९६ केजी तथा जिरा मसिनो धान पाँच क्विन्टल ८५ केजी खरीद गरिसकेको कार्यालयका वरिष्ठ सहायक मुनिलाल कुशवाहाले बताए ।

२०७६ मंसिर २१ गते शनिवार १०:२८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु