सडक मानवमुक्त अभियान : बालाजुमा सडकका बेसहारालागि ‘अस्थायी आवास केन्द्र’ बनाउँदै कामपा
काठमाडौं । काठमाडौँ महानगरपालिकाले सडकबाट उद्धार गरिएका व्यक्तिहरुका लागि ‘अस्थायी आवास केन्द्र बनाउँने भएको छ । एक छाक खान नपाएर सडकमा आउनुपर्ने अवस्थाको अन्त्य गर्ने अभियानमा लागेको महानगरपालिकाले सडकबाट उद्धार गरिएका व्यक्तिहरुका लागि ‘अस्थायी आवास केन्द्र’ बालाजुमा राख्ने भएको हो ।
बालाजुस्थित बाइसधारा नजिक रहेको महानगरपालिकाको भवनलाई उपयोग गरेर उनीहरुको अल्पकालीन आवासको व्यवस्था मिलाइएको काठमाडौँ महानगरपालिकाका प्रमुख तथा उक्त अभियान मूल व्यवस्थापन समितिका संयोजक विद्यासुन्दर शाक्यले जानकारी दिए।
महानगरले उद्धार गरेर राखिएकाहरु मध्य वास्तविक बेसहारा, पेशेबर मगन्ते, र मदिरा खाएर सडकमा पुग्ने व्यक्तिहरुको पहिचानका लागि बाजालुको भवनलाई छनोट केन्द्र्र (स्क्रिनिङ सेन्टर) बनाउन लागेको हो । मदिरा खाएर सडकमा गएका तथा पेशेवर मगन्तेहरुको भने उचित व्यवस्थापन गरिने महानगर प्रमुख शाक्यले बताए ।
मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले खान नपाएर र एकसरो लगाउन नपाएर सडकमा पुग्ने अवस्थाको अन्त्य गर्ने महाअभियानमा सहभागी हुन महानगरवासीलाई अपिल गर्दै विसं २०८२ सम्ममा नेपाललाई नै सहयोगापेक्षी सडकमानव मुक्ति गर्ने लक्ष्य रहेको जानकारी गराए ।
२०७६ मंसिर २० गते शुक्रवार २०:४३ बजे प्रकाशित