"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

उपभोक्तालाई जानकारी : अबको साढे २ महिनाभित्र नयाँ विद्युत् महसुल दर लागु हुने

काठमाडौं । अबको साढे २ महिनाभित्र नयाँ विद्युत् महसुल दर कायम हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् नियमन आयोगमा पठाएको प्रस्ताव अध्ययन गरी नयाँ महसुल दर कायम गर्न साढे २ महिना लाग्ने आयोगका सदस्य रामकृष्ण खतिवडाले जानकारी दिए । गत शुक्रबार प्राधिकरणले आयोगसमक्ष ‘उपभोक्ताको विद्युत् महसुल निर्धारणसम्बन्धी निर्देशिका २०७६’ अनुसार महसुल समायोजनका लागि प्रस्ताव पठाएको हो ।

‘प्राधिकरणले झन्डै एक महिनाअघि आयोगमा पठाएको प्रस्ताव निर्देशिकाअनुसार नभएपछि पुनः रीतपूर्वक प्रस्ताव पठाउन आयोगले प्राधिकरणलाई पत्राचार गरेको थियो,’ खतिवडाले भने, ‘आयोगले रीतपूर्वक पठाएको नयाँ प्रस्तावमा महसुल दर भने उही छ ।’

खतिवडाका अनुसार निर्देशिकाले गरेको व्यवस्थाबमोजिम प्राप्त प्रस्तावमा संलग्न कागजात पुगे, नपुगेको हेरेर १५ दिनभित्र प्रस्ताव स्वीकार गरिने, नगरिने जानकारी दिनुपर्नेछ । प्रस्ताव स्वीकृत भएपछि प्रस्तावक प्राधिकरणलाई दर्ता नम्बर उपलब्ध गराउनुपर्छ । प्रस्ताव स्वीकृत भएको दर्ता नम्बर पाएको ६० दिनभित्र नयाँ महसुल दर निर्धारण गर्नुपर्ने व्यवस्था छ । त्यसलगत्तै प्रस्तावमा समावेश महसुल दरबारे अध्ययन–मूल्यांकन गरी सार्वजनिक सुनुवाइमा लानुपर्छ । ‘प्राधिकरणले पठाएको प्रस्तावमा समावेश कागजात हाम्रो चेकलिस्टअनुसार नै छ भने अबको ७५ दिनभित्र महसुल निर्धारण हुन सक्छ,’ उनले भने, ‘कागजात नपुगेको हो भने फेरि कागजात पेस गर्न प्राधिकणलाई पत्राचार गरिनेछ ।’

झन्डै एक महिनाअघि आयोगले घरायसी विद्युत्को महसुल यथावत् राख्दै औद्योगिक वर्गको महसुल १५ प्रतिशतसम्मले बढ्ने गरी प्रस्ताव गरेको थियो । तर, विद्युत् नियमन आयोग ऐनले प्राधिकरणको प्रस्तावमा महशुल निर्धारणको अधिकारी आयोगलाई दिएको छ । विद्युत् उत्पादन बढेको र विद्युत् माग र आपूर्तिको कुशल व्यवस्थापनमार्फत लोडसेडिङसमेत अन्त्य गरिसकिएकोले महसुल समायोजनको प्रस्ताव प्राधिकरणले गरेको हो ।

प्राधिकरणले आफूले खरिद गर्दै आएको विद्युत् मूल्य, बिक्री गर्दै आएको दर, आम्दानी, खर्च, ऋण तथा दायित्व आधारमा महसुल निर्धारण गरिने आयोगले जनाएको छ । प्राधिकरणको सञ्चालन खर्च र दायित्वहरूका लागि लाग्ने रकम उठ्ने तथा असीमित मुनाफा नहुने गरी महसुल समायोजन गरिने आयोगले जनाएको छ ।

प्राधिकरणका अनुसार आर्थिक वर्ष ०७५/७६ सम्ममा कुल ४४ लाख ४० हजार ८ सय ७३ घरधुरी उपभोक्ता रहेका छन् । हालसम्म नेपालका ७८ प्रतिशत जनतामा विद्युत्को पहुँच पुगेको छ ।

२०७६ मंसिर १९ गते बिहीवार १८:४७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु