निर्वाचन आयोगको आग्रह : निर्धक्क भएर भोट हाल्नुस्
काठमाडौं । निर्वाचन आयोगले मंसिर १४ गते शनिबार हुने उपनिर्वाचनमा निर्धक्क भएर भाग लिन आग्रह गरेको छ।
आयोगले शुक्रबार भिडिओ अपिल गर्दै प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहका सदस्यको विभिन्न पदको उपनिर्वाचनका लागि सबै तयारी पूरा भएको जनाएको छ।
उपनिर्वाचन हुने क्षेत्रका मतदाताहरूले सरकारी कार्यालयबाट जारी भएका आफ्नो परिचय झल्कने फोटोसहितको कुनै पनि परिचयपत्र देखाएर मतदान गर्न पाउने आयोगले जनाएको छ।
प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले गृह मन्त्रालयको संयोजकत्वमा सबै सुरक्षा निकायको एकीकृत सुरक्षा योजना तर्जुमा गरिएकाले ढुक्क भएर निर्वाचनमा सहभागी हुने वातावरण बनेको बताए।
‘सबै सुरक्षा निकायको एकीकृत सुरक्षा योजना तर्जुमा गरिएकाले ढुक्क भएर मतदानमा भाग लिन अनुरोध गर्दछौं’, उनले भने।
उनले उपनिर्वाचनको पर्यवेक्षणका लागि राष्ट्रिय पर्यवेक्षण संस्थाहरूले अनुमति पाइसकेको र नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरूलाई समेत अनुमति प्रदान गरिएको बताए।
‘आयोगमा मिडिया अनुगमन इकाई स्थापना भई अनुगमनको काम भइरहेको छ’, उनले भने।
प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन सामग्रीहरू सम्बन्धित जिल्ला र मतदान केन्द्रसम्म पुर्याइसकेको समेत जानकारी दिए।
उनले ३७ जिल्लामा २ सय ४७ मतदान स्थल तथा ५ सय ३७ मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी लगायत सुरक्षकर्मीहरू आवश्यक मतदान सामग्रीहरूसहित गत बुधबार साँझ नै पुगिसकेको समेत जानकारी दिए।
उपनिर्वाचनमा प्रतिनिधि सभा सदस्यका लागि १ जना, प्रदेश सभा सदस्यतर्फ ३ जना, उपमहानगरपालिका प्रमुख १ जना, गाउँपालिका अध्यक्षका लागि ३ जना, गाउँपालिका उपाध्यक्षका लागि १ जना र स्थानीय तह सदस्यतर्फ ४३ गरी कुल ५२ रिक्त पदमा निर्वाचन हुँदैछ।
प्रतिनिधि सभा सदस्यतर्फ ११, प्रदेश सभा सदस्यतर्फ १५ र स्थानीय तहका सदस्यका लागि २० वटा राजनीतिक दलहरू सहभागी भएका छन्।
निर्वाचनमा २ लाख ३३ हजार ४ सय २ महिला, २ लाख २० हजार ७ सय १० पुरुष र अन्य २ गरी जम्मा ४ लाख ५४ हजार १ सय १४ जना मतदाताले मतदान गर्दैछन्।
२०७६ मंसिर १३ गते शुक्रवार १८:४२ बजे प्रकाशित