प्रधानमन्त्रीको निर्देशन : चार महिनाभित्र काठमाडौंका सडकका खाल्डाखुल्डी पुर्नु

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंका सडकका खाल्डाखुल्डी चार महिनाभित्र पुरी सक्न निर्देशन दिएका छन् ।
पुनर्गठित मन्त्रिपरिषद्को पहिलो बैठकपछि मन्त्री र सचिवहरूहरुलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले जसको जिम्मेवारी हो, उसले काम गर्नुपर्ने बताए । ‘काठमाडौंको खाल्डाको गीत कति सुन्ने रु जहिले सुन्यो, त्यही सारंगी बज्छ । टेलिभिजन खोल्यो उही सारंगी, रेडियो खोल्यो उही सारंगी, अनलाइन हेर्यो उनी सारंगी’ उनले भने, ‘यो आगामी चौमासिकभित्र काठमाडौंका सबै खाल्डा समाप्त हुनुपर्छ ।’
उनले विकासका काममा सहकार्य र सहउपयोगको नीति लिएर योजना बनाउन मन्त्री र सचिवहरुलाई निर्देशन दिएका छन् । ‘एउटाले सडक पिच गर्ने, अर्कोले भत्काउन जाने, भत्केको सडक जस्ताको तस्तै छोड्ने । अब यस्तो चल्दैन’ प्रधानमन्त्री ओलीले भने, ‘भत्काउनु अघि कहिलेसम्म निर्माण भइसक्छ, स्पष्ट योजना बनाउनुपर्यो । विकासमा सहकार्य मात्रै होइन, सहउपयोगको नीति अपनाउनुपर्यो ।’
प्रधाननमन्त्री ओलीले विकास निर्माणको कामले तिव्रता पाउँदा केही समय धुलो उड्नु स्वभाविक भएको बताए । निर्माणाधीन प्रधानमन्त्री निवासतर्फ संकेत गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अहिले म आफैं धुलो उड्ने ठाउँमा बसेको छु । ट्याङट्याङ टुङटुङ आउँछ । तर, जहाँ निर्माण कार्य भइरहेको छैन, त्यहाँ धुलो उड्नु भएन । प्रधानमन्त्री बसेको ठाउँ होस् वा अरु कोही बसेको ठाउँ होस् ।’
उनले मन्त्रालय तथा सरकारी निकायहरुबीच समन्वय नभएको भन्दै असन्तुष्टि जनाएका छन् । तीनकुने माइतीघर सडकको उदाहरण दिँदै उनले एउटा व्युटिफिकेसन गरेको र अर्कोले बिजुलीको खम्बा राखेर बेचेको सुनाए ।
सरकारको समर्थ्यमाथि जनताको विश्वास रहेकार तत्परतामाथि अविश्वास गरेको प्रधाननमन्त्री ओलीको विश्लेषण थियो । ‘सरकारले चाहेको बेला त एक हप्तामा सडक चिल्लो हुँदोरहेछ नि भनेर जनताले भनिरहेका छन्’ उनले भने, ‘एक हप्तामा सवै चिटिक्क पार्न सक्नेले सधैं चिटिक्क पार्न किन तत्परता नअपनाउने ?’
प्रधानमन्त्री ओलीले कार्यसम्पादनका क्रममा लोभ गर्ने र मिलाएर आम्दानी गर्ने प्रवृत्ति देखिए कारबाही गर्ने चेतावनी दिएका छन् ।
२०७६ मंसिर ६ गते शुक्रवार १५:१९ बजे प्रकाशित