काठमाडौंको वायुप्रदूषण : सर्वसाधरणको अमूर्त हत्यारा, संविधानको क्षतिपूर्तिको व्यवस्था कस्ले सुन्ने
काठमाडौंको वायुप्रदूषणमा जिम्मेवार को ? प्रदूषण रोक्न कार्यक्रम नै असफल
काठमाडौं । काठमाडौंको वायुलाई दूषित बनाउनेहरूको कारण अरु थुप्रै सर्वसारण दम, खोकी, मिर्गौला, क्यान्सरजस्ता रोगको शिकार बन्नु परिरहेको छ । यसरी अरूको कारणले आफ्नो शरीर नै रोगी र जीर्ण बनाइरहेका छन्, काठमडौंका सर्वसाधरण ।
संविधानमा क्षतिपूर्तिको व्यवस्था
नेपालको संविधानले प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हकलाई मौलिक हकको रुपमा परिभाषित गरेको छ । संविधानको धारा ३० ले वातावरणीय प्रदूषण वा ह्रासबाट हुने क्षतिबापत पीडितलाई प्रदूषकबाट कानून बमोजिम क्षतिपूर्ति पाउने हक हुने समेत लेखेको छ । तर, विश्व स्वास्थ्य संगठनले सन् २०१६ मा गरेको एक अध्ययन अनुसार नेपालमा हरेक वर्ष नौ हजार ९४३ जनाले वायुप्रदूषणका कारण ज्यान गुमाउने गरेका छन् । अरुको गल्तीका कारण ज्यान गुमाउने परिवार र गम्भीर बिरामीहरूलाई क्षतिपूर्ति दिने कसले ?
अर्थहीन प्रदूषण कर
मौलिक हकको रुपमा संविधानमा स्वच्छ वातावरणमा बाँच्न पाउने हकबारे लेख्नुभन्दा पहिले नै सरकारले वायुप्रदूषण नियन्त्रण गर्ने नाममा कर उठाउन सुरु गरेको थियो । प्रदूषणको शिकार भएकाहरूले क्षतिपूर्ति पाउने संवैधानिक व्यवस्था भएपनि उनीहरूलाई नै अप्रत्यक्ष रुपमा थप भार पर्ने गरी प्रदूषण कर उठाउने गरेको छ । आर्थिक वर्ष ०६५/६६ बाट प्रदूषण शुल्क शीर्षकमा कर लगाउँदै आएको सरकारको खातामा ४ अर्बभन्दा धेरै पैसा जम्मा भइसक्यो । प्रदूषण शुल्क कोषको रकमसँगै काठमाडौंको वायुप्रदूषण पनि भयावह रुपमा बढिरहेको छ । यसमा सरकारी प्रयासले काम गर्न सकिरहेको छैन ।
वायुप्रदूषण : अमूर्त हत्यारा
विश्व स्वास्थ्य संगठनले विश्वभर गरेको अध्ययनले हरेक १० जना मध्ये ९ जना प्रदूषणबाट प्रभावित हुने गरेको प्रतिवेदन निकाल्यो । सोही वर्ष विश्व बैंकले पनि प्रदूषणलाई मूल्यमा ढालेर तथ्यांक निकालेको थियो । जस अनुसार नेपालमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा वार्षिक २ खर्ब ८० अर्ब रुपैयाँको नोक्सानी प्रदूषणकै कारण हुने गरेको पाइयो । यसमा अधिकांश क्यान्सर जस्ता गम्भीर किसिमका रोगहरूको लागि खर्च गरिएको थियो ।
संगठनले विश्वभर गरेको अध्ययनले हरेक १० जना मध्ये ९ जना प्रदूषणबाट प्रभावित हुने गरेको प्रतिवेदन निकाल्यो । सोही वर्ष विश्व बैंकले पनि प्रदूषणलाई मूल्यमा ढालेर तथ्यांक निकालेको थियो । जस अनुसार नेपालमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा वार्षिक २ खर्ब ८० अर्ब रुपैयाँको नोक्सानी प्रदूषणकै कारण हुने गरेको पाइयो । यसमा अधिकांश क्यान्सर जस्ता गम्भीर किसिमका रोगहरूको लागि खर्च गरिएको थियो ।
सन् २०१६ मा प्रदूषण सम्बन्धी अध्ययन गरेपछि विश्व स्वास्थ्य संगठनले वायुप्रदूषणलाई ‘अनभिजिवल किलर’ अर्थात् अदृश्य हत्याराको उपमा दिएको छ । यो रोगले तत्कालको लागि नाक, घाटी र फोक्सोमा सामान्य असर परेपनि दीर्घकालमा ठूला ठूला रोगहरूको समेत शिकार बनाएर मानिसको औषत् उमेरभन्दा अघि नै ज्यान लिने गरेको संगठनको अध्ययनले देखाएको छ । तत्काल केही असर नदेखिए तापनि यो प्राणघातक हुने भएकोले यसलाई अदृश्य हत्यारा भन्ने नाम दिइएको हो ।
त्यस्तै, अघिल्लो वर्ष वातावरण तथा सामुदायिक स्वास्थ्य नामक एक जर्नलको २०१८ को अंकमा काठमाडौंमा वायुप्रदूषणको भयावह अवस्थाको चित्रण गरिएको थियो । त्यो प्रतिवेदनको पनि सारांस खण्डमा वायुप्रदूषणलाई अदृश्य हत्याराको रुपमा नै उल्लेख गरिएको छ ।
काठमाडौंको वायुप्रदूषणमा जिम्मेवार को ?
काठमाडौंको जनघनत्व १३ हजार २२५ प्रति वर्गकिलोमिटर छ । अर्थात् एक वर्गकिलोमिटरमा १३२५ जनासम्म बस्नुपर्ने छ । त्यसैमाथि यहाँको जनसंख्या बृद्धि पनि तीब्र मात्रामा बढीरहको छ । यो उपत्यकाको चारैतिर समुद्रीसतहदेखि २००० मिटरदेखि २८०० मिटरसम्मका अग्ला पहाडहरू छन् । जसका कारण हावा तातेर अन्यत्र जान मुस्किल हुने भएकोले प्रदूषित हावा उपत्यका भित्रै रुमलिइरहेको हुन्छ ।
अघिल्लो वर्ष वन तथा वातावरण मन्त्रालयले सार्वजनिक गरेको एक प्रतिवेदनमा काठमाडौं उपत्यका लगायत देशभर प्रदूषण निम्त्याउने कारकहरूको उल्लेख गरिएको थियो । त्यसलाई आधार मान्दा काठमाडौं उपत्यकामा सबैभन्दा धेरै वायुप्रदूषण सवारी साधनको कारणले हुने गरेको छ । सवारीको मात्रै कूल प्रदूषित वायुमा ३७ प्रतिशतको योगदान छ । त्यसकै हाराहारीमा उद्योगधन्दा, इट्टाभट्टा आदिबाट निस्कने धुवाँको हिस्सा छ । यसबाहेक घरेलु प्रयोगमा आउने सामग्रीहरू र वनजंगलमा हुने आगलागीको हिस्सा निकै कम छ ।
केही अंश नेपालकै तराई भेगको प्रदूषण र पश्चिमी भूभागमा देखिएको प्रदूषणले पनि काठमाडौंमा असर गर्ने गर्छ । मौसम पूर्वानुमान महाशाखाका मौसम् विद समीर श्रेष्ठ हिउँद महिनामा पश्चिमी वायु काठमाडौं आउने भएकोले दिल्ली लगायत पश्चिमी भेगमा बढेको प्रदूषित हावा पनि काठमाडौंमा प्रवेश हुने बताउँछन् ।
वैज्ञानिक तथ्य अनुसार हाम्रो वायुमण्डलमा ७८ प्रतिशत नाइट्रोजन हुन्छ । झण्डै २९ प्रतिशत अक्सिजन रहेको हुन्छ । यी दुई तत्वहरूबीच रासायनिक प्रतिक्रिया नभएसम्म यो हामीहरूको शरीरको लागि दुबै लाभदायक हुन्छन् । तर, यी दुई ग्यासबीचको प्रतिक्रियापछि बन्ने नाइट्रोजन अक्साइड नै हाम्रो शरीरको लागि घातक हुनेगर्छ । सवारी साधनबाट र उद्योगबाट निस्कने ग्यासमा यसैको मात्रा धेरै हुन्छ । यिनै ग्यासहरूलाई हामीले विभिन्न नाम दिएर चिन्ने गर्छौं ।
प्रदूषणको भयानक असर
जसको असर स्वरुप रिस एवं जलन उत्पन्न हुने, नाकमा समस्या सिर्जना हुने, श्वासनलीमा संक्रमण हुने समस्या देखिन्छ । नाककान घाँटी रोग विशेषज्ञ डा। अनुप ढुंगाना यसले नाकको घ्राण शक्ति नष्ट गर्ने, रुघाखोकीपछि पिनासको सम्भावना समेत हुने बताउँछन् । घाँटीमा विभिन्न संक्रमण हुने र फोक्सोसम्म पनि यसले असर गर्ने भएकोले प्रदूषणबाट जतिसकिन्छ बचेर हिँड्न उनी सुझाव दिन्छन् ।
अर्कोतर्फ, परमाणु २.५ माइक्रोमिटरभन्दा कम भएको खण्डमा फोक्सो सम्बन्धी गम्भीर रोग लाग्ने, निराशा बढ्ने, एल्भोलरको भित्तामा क्षति पुग्ने हुन्छ । जसको कारण फोक्सोले लामो समयसम्म काम गर्न सक्दैन । विश्व स्वास्थ्य संगठन सन् २०१६ को अध्ययन प्रतिवेदनले हरेक वर्ष वायुप्रदूषणको असरले ३४ प्रतिशत मुटुको रोगबाट, ३२ प्रतिशत मस्तिष्कघातबाट, १८ प्रतिशत क्रनिक ओब्स्त्रक्तिभ पल्मोनरी डिजिजबाट, ९ प्रतिशत फोक्सो क्यान्सरबाट र ७ प्रतिशत अन्य रोगका कारण मृत्यु हुने गरेको देखाएको छ । घर बाहिर हुने वायुप्रदूषणबाट मात्रै वार्षिक ४० लाखभन्दा धेरैको मृत्यु हुने गरेको छ ।
प्रदूषण रोक्न कार्यक्रम नै असफल
सन् २०१९ को जनवरी एकदेखि आजसम्मको झण्डै ११ महिनामा काठमाडौंको महाराजगञ्ज क्षेत्रको वायुप्रदूषणको मापनलाई विश्लेषण गर्दा त्यहाँको हावा अधिकांश समय स्वास्थ्यको लागि हानिकारक रहेको पाइएको छ । आफ्नो कार्यालय अघिको वायुलाई नेपाल स्थित अमेरिकी दूतावासले गरेको गुणस्तर परीक्षणमा यस्तो देखिएको हो । सो रिपोर्टलाई आधार मान्दा २०१९ को मे महिनाको २० तारिक, २४ तारिक र अक्टोबर ११ तारिकको दिन सो क्षेत्रको वातावरण हानिकारक तहको पनि उच्च स्थानमा पुगेको थियो । पिएम २.५ को हावा सबैभन्दा धेरै २० तारिकमा ३९५ माईक्रोग्राम प्रतिघनमिटर पुगेको थियो । अर्को दिन २७६ माईक्रोग्राम प्रतिघनमिटर र अक्टोबर ११ को दिन २५९ माईक्रोग्राम प्रतिघनमिटर पुगेको थियो ।
एजेन्सी अनलाईनको सहयोगमा
२०७६ कात्तिक २० गते बुधवार १३:४४ बजे प्रकाशित