सबै वर्गका उपभोक्ताले तिर्नुपर्ने विद्युत् महसुल समायोजन गर्ने तयारी
काठमाडौं । विद्युत् नियमन आयोगले सबै वर्गका उपभोक्ताले तिर्नुपर्ने विद्युत् महसुल समायोजन गर्ने तयारी अघि बढाएको छ । देशबाट लोडसेडिङ अन्त्य भएको तथा विद्युत् उत्पादन बढेर चालू आर्थिक वर्षमै दोब्बर हुने सरकारको आकलन छ । सोही कारण पुरानो महसुल दरमा पुनरावलोकन गर्नुपर्ने समय आएको भन्दै आयोगले यस्तो तयारी गरेको हो ।
आयोगले मंगलबार ‘विद्युत् उपभोक्ता महसुल निर्धारण निर्देशिका २०७६’ को मस्यौदा सुझाबका लागि सार्वजनिक गरेको छ । विद्युत् वितरक प्राधिकरण र बुटवल पावर कम्पनीको सुझाब लिन निर्देशिकाको मस्यौदा सार्वजनिक गरिएको आयोगका प्रवक्ता डा। रामप्रसाद धितालले बताए । ‘सेवाप्रदायक निकाय तथा सरोकारवालाको सुझाब लिइसकेपछि सार्वजनिक सुनुवाइ गर्ने र सबै पक्षको सुझाबपछि निर्देशिकालाई अन्तिम रूप दिएर कार्यान्वनयमा ल्याइनेछ,’ उनले भने ।
प्राधिकरणले लोडसेडिङ अन्त्य भइसकेको कारण डेडिकेटेड महसुल समायोजनको प्रस्ताव पनि आयोगसमक्ष लैजाने तयारी गरिरहेको छ । प्राधिकरणले डेडिकेटेड तथा ट्रंक लाइनबाट डेडिकेटेड महसुल दरमा विद्युत् खपत गरेका उपभोक्तालाई लिँदै आएको महसुल पुनरावलोकन गर्न पनि उक्त निर्देशिका कार्यान्वयनमा आउनुपर्ने प्रवक्ता धितालले बताए ।
निर्देशिकाको मस्यौदाअनुसार विद्युत् सेवाप्रदायक संस्थाले उपभोक्ताको वर्गअनुसार विद्युत् बिक्रीबाट गर्ने आम्दानी, सञ्चालन खर्च, विभिन्न आयोजनाका लागि लिइएको ऋण (साँवा–ब्याज) भुक्तानीको भार, विद्युत् खरिद दर, मुनाफालगायतका १२ मापदण्डलाई विद्युत् महसुल निर्धारणको मुख्य आधार बनाएको छ ।
प्राधिकरणले डेडिकेटेड महसुल तिर्ने औद्योगिक ग्राहकको मात्र महसुल समायोजनको प्रस्ताव लगे पनि आयोगले सबै ग्राहकबाट गर्ने आम्दानी अध्ययन गरी सबै ग्राहकको महसुल समायोजन गर्ने प्रवक्ता धितालले बताए । तर, महसुल पुनरावलोकन गरी समायोजन गर्न प्राधिकरणले नै आयोगसमक्ष प्रस्ताव लिएर जानुपर्ने कानुनी प्रावधान छ ।
नेपाल विद्युत् प्राधिकरणबाट हाल औद्योगिक, व्यावसायिक, गैरव्यावसायिक, सिँचाइ, खानेपानी, मन्दिर, सडक बत्ती, अस्थायी आपूर्ति, गैरघरायसी, मनोरञ्जन, व्यापार, विद्युतीय यातायात उपभोक्ता वर्गका लागि फरक–फरक महसुल दर निर्धारण गरी महसुल असुल गर्दै आएको छ ।
प्राधिकरणका अनुसार आर्थिक वर्ष ०७५/७६ सम्ममा कुल ४४ लाख ४० हजार ८ सय ७३ घरधुरी उपभोक्ता रहेका छन् । हालसम्म नेपालका ७८ प्रतिशत जनतामा विद्युत्को पहुँच पुगेको छ ।
२०७६ कात्तिक २० गते बुधवार ११:५० बजे प्रकाशित