"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

सवारी चालक अनुमतिपत्रमा रहेको ढिलाइ छिट्टै हट्ने

काठमाडौं । सवारी चालक अनुमतिपत्रमा रहेको ढिलाइ हट्ने भएको छ। डेढ महिना पहिले ल्याइएको मास प्रिन्टर (ठुलो क्षमताको छपाइ उपकरण) सञ्चालनमा आउने भएसँगै छपाइमा रहेको ढिलाइ हट्ने भएको हो।

प्रतिघण्टा पाँचदेखि छ सयसम्म अनुमतिपत्र छपाइ गर्ने क्षमता रहेको ‘मास प्रिन्टर’ अबको केही दिनभित्रै सञ्चालनमा ल्याइने भएको छ।

डेढ महिना पहिले ल्याइएको उक्त उपकरणको जडान र परीक्षण सकिएकाले अब सञ्चालनमा ल्याउन लागिएको हो।

अबको केही दिनसम्म परीक्षण भएपछि उपकरण पूर्णरूपमा सञ्चालनमा आउने यातायात व्यवस्था विभागले जनाएको छ।

उपकरणका धेरै भाग छुट्टिएर आउने हुँदा हालसम्म जडानको काम भइरहेको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए।
उनकाअनुसार उपकरणमा ‘सफ्टवेयर’कै लागि लामो समय लागेको हो।

अहिले परीक्षणका लागि चालक अनुमतिपत्र छपाइ भइरहे पनि पूर्णरूपमा सञ्चालनमा आउन बाँकी छ।

परीक्षणका क्रममा कुनै पनि किसिमका समस्या नआएकाले पूर्णरूपमा सञ्चालन गर्न समस्या नभएको विभागका महानिर्देशक हमाल बताउँछन्।

विभागमा अहिले देशभरका यातायात व्यवस्था कार्यालयबाट आएका आवेदनबाट झण्डै साढे सात लाख अनुमतिपत्र छपाइ गर्न बाँकी छ।

यो उपकरण पूर्णरूपमा सञ्चालन हुँदा तीनदेखि चार महिनामा सबै कार्ड छापिसकिने विभागले अनुमान गरेको छ ।

हमालकाअनुसार अब काठमाडौं उपत्यकामा सवेग्राहीले आवेदन दिएकै दिनमा अनुमतिपत्र पाउने व्यवस्था मिलाइने छ।

‘काठमाडौं उपत्यका बाहिरबाट विवरण आउन र छापिएपछि बाटोमा समय लाग्दा मात्रै ढिलाइ हुनसक्छ’, उनले भने ‘उपकरणका कारण भने ढिलो हुँदैन।’

‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइमा रहेको ढिलाइ हटाउनका लागि सरकारले गत वर्ष नै ठूलो सङ्ख्यामा एकैपटक छाप्न ‘मास प्रिन्टर’ खरिद गरेको थियो।

विभागले ठूलो सङ्ख्यामा अनुमतिपत्र छाप्नुपर्ने भएकाले १० लाख कार्ड खरीदका लागि ठेक्का सम्झौता गरेको थियो।

तीमध्ये ४ लाख कार्ड आइसकेको र बाँकी ६ लाख आउने क्रममा रहेको विभागले जनाएको छ।

विभागले गत वर्ष मदरास प्रिन्टर प्रालिमार्फत प्रिन्टर खरीद गरेको हो।

अहिले विभागमा रहेको मुद्रणयन्त्र ९छपाइ मेसिन०को क्षमताभन्दा धेरै कार्ड छाप्नुपर्ने भएकाले सेवाग्राहीले आवेदन दिएको एक वर्ष बितिसक्दा समेत अनुमतिपत्र पाएका छैनन्।

कतिपय कार्ड भने छापिएको लामो समय हुँदा समेत सेवाग्राही लिन नआउँदा व्यवस्थापन गर्न कठिन भएको कार्यालयले बताउँदै आएको छ।

स्मार्ट चालक अनुमतिपत्र छपाइमा ढिलाइ हुँदा सेवाग्राही हैरान भएका छन्।

भक्तपुरका अनन्त नेपाल स्मार्ट चालक अनुमतिपत्र बनेरनबनेको बुझ्न तीन पटकसम्म कार्यालय पुग्दा पनि नबनेको भन्दै फर्कन परेको गुनासो गर्छन्।

उनले भक्तपुरको जगातीबाट चालक अनुमतिपत्रका लागि परीक्षा पास गरेका थिए।

सडकमा छड्के जाँच हुँदा उनले कार्यालयमा राजश्व तिरेको कागज देखाएर हिड्ने गरेको बताए।

‘रसिदको नम्बर नबुझिने भएर अहिले लेमिनेशन गरेर बोकेको छु’, नेपालले भने।

विभागमा रहेका पुराना उपकरणको क्षमता प्रतिघण्टा ४० वटासम्म मात्रै रहेको थियो।

पहिले सात वटा उपकरण ल्याएर विभागले ‘स्मार्ट’ चालक अनुमतिपत्र सुरु गरेको थियो। तीमध्ये अहिले तीनवटा मात्रै संचालनमा छन्।

२०७६ कात्तिक १६ गते शनिवार १४:२४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु