"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

नागरिकको गुनासो : किन रोकियो सवारीसाधनको प्रदूषण परीक्षण ?

काठमाडौं । सडकमा गुडिरहेका सवारीसाधनलाई गरिँदै आएको छड्के परीक्षण रोकिएको छ। ट्राफिक प्रहरी, वातावरण विभाग र यातायात कार्यालयले संयुक्त रुपमा गर्दै आएको सवारीसाधनको प्रदूषण परीक्षण रोकिएको हो। असार १७ गतेबाट प्रदूषण परीक्षण भएको छैन। १७ गते ८५ वटा सवारीसाधनमा गरिएको परीक्षणमा ३२ वटा फेल भएका थिए।

नियमित हुँदै आएको सवारी प्रदूषण जाँच हाल रोकिएको वातावरण विभागका उपमहानिर्देशक ईन्दुबिक्रम जोशीले जानकारी दिए। ‘छड्के जाँचमा विभागले प्राविधिक सहयोग गर्दै आएको थियो’, उनले भने। तत्कालका लागि बन्द भए पनि आगामी दिनमा यसलाई निरन्तरता दिने उनले बताए।

असारमा मात्रै २ सय ८४ सवारीसाधनको प्रदूषण परीक्षण गरिएको थियो। त्यसमध्ये १ सय ७१ वटा सवारीसाधनको प्रदूषण फेल भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। २०७५ चैत २१ देखि जेठसम्म गरिएको परीक्षणमा २ हजार ९ सय ३४ सवारीको प्रदूषण परीक्षण गरिएकोमा १ हजार ५ सय ७९ सवारी फेल भएका थिए।

अभियानको रुपमा प्रदूषण जाँच हुँदै आएको र हाल अभियान रोकिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता तथा एसपी रविकुमार पौडेलले जानकारी दिए। ‘प्रदूषण जाँच ट्राफिक प्रहरीभन्दा पनि यातायात कार्यालयको काम हो’, पौडेलले भने, ‘अभियानमा हामीले हातेमालो गरेका हौं। प्रदूषण जाँचको क्रममा फेल भएका सवारीलाई कारबाही गर्दै आएका थियौं।’

२०७५ जेठ २० गते गृहमन्त्री रामबहादुर थापा र वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत समेत सवारीसाधनबाट हुने प्रदूषणको छड्के जाँच गर्न सडकमै निस्किएका थिए। छड्केमा परेका सवारीमध्ये ५० प्रतिशतभन्दा बढी सवारीसाधनको प्रदूषण फेल हुने गरेका छन्। यसले पनि सडकमा गुडिरहेका सवारीसाधनको अवस्था कस्तो छ भन्ने देखाउँछ। २०७५ चैत २१ गतेबाट सुरु भएको ‘उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदूषण नियन्त्रण सुधार कार्ययोजना–२०७५’ अन्तर्गत परीक्षण हुँदै आएको थियो।

हावामा हुने धूलोको मात्रामा सवारी साधनले निकाल्ने धूलोको ३८ प्रतिशत हिस्सा छ। सवारीसाधनले २ दशमलव ५ पिएम ९पार्टिकुलर म्याटर० को धूलो उत्पादन गर्छ। मानव स्वास्थ्यका दृष्टिले सम्वेदनशील सानो धूलोका कण निकाल्ने भएकाले सरकारले प्रदूषण मापनमा कडाइ गर्नुपर्ने वातावरण विद्को भनाइ छ। वायु प्रदूषण हुनुमा सवारीसाधनबाट निस्कने धुँवाको हिस्सा धेरै रहेको वातावरणविद् भुषण तुलाधरले बताए।

सवारीबाट जाँच कडाइका साथ कार्यान्वयन भए पनि प्रदूषण कम हुने उनको भनाइ छ। डिजेल/पेट्रोलबाट कार्बन मोनोअक्साइड, हाइड्रोकार्बनजस्ता हानिकारक धुवाँ निस्कन्छ जसले मानव स्वास्थ्यमा प्रत्यक्ष असर गर्छ। हाल लागू रहेको सवारी प्रदूषण मापदण्ड पालना भए नभएको मापन गर्न यातायात व्यवस्था विभागअन्तर्गत करिब ४५ वटा ग्यास एनालाइजर र ४ वटा स्मोक छन्। यसले लाखौंको संख्यामा रहेका सवारीसाधनले प्रदूषण मापदण्ड गर्न कठिन पनि छ। अर्कोतर्फ विभागले २ पांग्रे सवारीसाधनको प्रदूषण मापदण्डको परीक्षण गर्दैन। सवारी जाँचका लागि ३५ रुपैयाँ तोकिएको छ। यदि मापदण्डविपरीत भए ट्राफिक प्रहरीले एक हजार रुपैयाँ जरिवाना गर्ने व्यवस्था छ । तर प्रदूषण फेल भएका सवारी पनि निर्वाद सञ्चालन भइरहेको छ।

स्वास्थ्यमा गंम्भीर असर, जिम्मेवारी कस्को ?

सरकारले असार मसान्त सम्ममा नेपालभर प्रदूषण मापन केन्द्रहरू काठमाडौंभित्र चार ठाउँमा गरेर ७ ठाउँमा स्थापना हुने र त्यसले अवस्थाको पहिचान गर्न सघाउने बताएको छ।

तर थुप्रै चिकित्सकहरूले बढ्दो प्रदूषणको माग मानिसहरूमा दीर्घरोगको रूपमा देखिन थालेको भन्दै सरकारी ढिलासुस्तीप्रति चिन्ता व्यक्त गर्छन्। त्यसले पार्ने असरबारे जनस्वास्थ्यविज्ञ डा। कार्की भन्छन् पुराना सवारी साधनबाट निस्कने प्रदूषणले मुटु र फोक्सोमा एकदम असर पार्छ। बच्चाहरूमा पनि यसको असर बढ्दै गएको देखिएको छ।

तर प्रदूषणको एउटा मुख्य स्रोत सवारीको धूवाँ जाँचको जिम्मा आफूसँग नभएको वातावरण विभागले जनाएको छ। जसले गर्दा जिम्मेवारीका सम्बन्धमा नीतिगत रूपमा एकिकृत प्रयासको खाँचो रहेको विज्ञहरू बताउँछन्।

नागरिकको गुनासो

प्रदूषणबाट बच्चाहरूको फोक्सोमा समस्या उत्पन्न हुने गरेको छ । जसको माग शंसोधनमा जान लागेको वातावरण ऐनमा प्रस्ताव गरिएको बताउँछन् वातावरण विभागका महानिर्देशक नारायणप्रसाद सापकोटा, ूवातावरण सम्बन्धी प्रदूषण गर्नेलाई हामीले कारवाहीको लागि सिफारिस गर्न मिले पनि सिधै कारवाही गर्ने अधिकार छैन त्यसैले यो अवस्थालाई परिवर्तन गर्न अहिले बन्न लागेको नयाँ कानुनमा हामीले बन मन्त्रालयबाट प्रस्ताव गरेका छौं।
पछिल्लो समय बढ्दै गएको प्रदूषणको मात्रालाई न्यूनिकरण गर्न सरकारबाट प्रतिबद्धता नदेखिएको गुनासो आउने गरेको छ। पुराना सवारी साधनलाई हटाउँदा मात्रै पनि हालको अवस्थामा उल्लेखनीय सुधार आउने विज्ञहरूको भनाइ पाइन्छ।

यस्तै विद्युतीय सवारी साधनको प्रयोग गर्न तर्फ पनि जोड दिनुपर्ने उनीहरूको भनाइ छ।प्रदूषणका कारण मानव स्वास्थ्यमा गम्भीर असर परेको अध्ययनहरूले देखाएका छन् । वायु प्रदूषणले खासगरी बालबालिका र वृद्धवृद्धाको स्वास्थ्यमा नराम्रो असर पर्ने गरेको छ । संसारका अति प्रदूषित शहरमा पर्ने दिल्लीमा सन् २०१५ मा गरिएको एक अध्ययनले दशजना बच्चामध्ये चारजना गम्भीर खालको फोक्सोको समस्याबाट पीडित भएको देखाएको थियो।
नेपालमा त्यस्ता अध्ययन नभए पनि चिकित्सकहरूले आफूकहाँ श्वास प्रश्वासका बिरामी बढेको भन्दै केही समय अघि काठमाण्डूको प्रदूषण नियन्त्रण गर्न सरकारलाई दबाब दिने उद्देश्यले सडक कार्यक्रम समेत गरेका थिए।

२०७६ असोज ३० गते बिहीवार १५:२८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु