"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

काठमाडौं उपत्यकामा पानीको आपूर्ति सहज बन्दै, दुई दिन बिराएर घरघरमा खानेपानी

काठमाडौं । काठमाडौं उपत्यकामा दुई दिन बिराएर पानी वितरण हुन थालेको छ । पहिले विभिन्न ठाउँमा ५–६ दिन बिराएर वितरण हुने गरेको थियो । बागमतीमा पानीको बहाव बढेकाले अहिले काठमाडौंका विभिन्न ठाउँमा पानीको आपूर्ति सहज बन्दै गएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड ९केयुकेएल० ले जनाएको छ । केयुकेएलले महांकाल, महाराजगन्ज र बानेश्वरको मीनभवनस्थित पानीट्यांकीमा जम्मा भएको पानी दुई दिन बिराएर वितरण गर्न थालेको हो ।

खानेपानीमन्त्री विना मगरको निर्देशनमा केयुकेएलले काठमाडौंका मुख्य ठाउँमा पानीको वितरण दिन बढाएको हो । वर्षात्को समयमा बागमतीमा पानीको बहाव बढेकाले पानीलाई सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा पठाएर प्रशोधन गरी वितरण गरिएको केयुकेएलका कम्पनी सचिव मिलन शाक्यले बताए ।

वर्षातले आपूर्ति बढ्यो
पुरानै वितरण लाइनबाट पानीको आपूर्ति भइरहेको शाक्यले जानकारी दिए । पुरानै लाइनबाट पानीको आपूर्ति गर्दा चुहावट हुने सम्भावना भएकाले नजिकका केयुकेएलका शाखा कार्यालयहरूमा खबर गर्नसमेत केयुकेएलले सबैलाई आग्रह गरेको छ । ‘यसपालिको वर्षात्मा बागमतीमा पानी बढेकाले उक्त पानीलाई प्रशोधन गरी वितरण गरिएको हो,’ शाक्यले भने, ‘५–६ दिन बिराएर वितरण गर्दै आइरहेको पानी अहिले दुई दिन बिराएर वितरण गर्न थालेका छौँ । वर्षात्का कारण काठमाडौंका मुख्य ठाउँमा अहिले पानीको समस्या कम हुँदै गएको छ । प्रत्येकको घरमा पानीको आपूर्ति सहज भइरहेको छ ।’

महांकालबाट दैनिक डेढ करोड लिटर वितरण
केयुकेएलका अनुसार महांकाल चौरस्थित पानीट्यांकीमा दैनिक डेढ करोड लिटर पानी थपिँदै गएको छ । महांकालचौर शाखाको पानी अहिले चाबहिल, कपन, मैँजुबहाल, पशुपति, गौशाला, बत्तिसपुतली, पुरानो बानेश्वर, न्युरोड र कमलादी क्षेत्रमा वितरण हुँदै आएको छ ।

शाखा प्रमुख उमेश मरहट्टाले महांकालचौरबाट ९० हजार धाराहरूमा पानी वितरण हुँदै आएको बताए । त्यसैगरी, महाराजगन्जस्थित पानीट्यांकीमा अहिले दैनिक ४५ लाख लिटर पानी थपिएको शाखा प्रमुख रमेश केसीले बताए । महाराजगन्ज शाखाबाट चक्रपथ महाराजगन्ज, लाजिम्पाट, गैरीधारा, कपुरधारा, रानीबारी, सामाखुसी र असनमा पानी जाने गर्छ । यस क्षेत्रका ८ हजार धारामा पानी वितरण गरिँदै आएको शाखा प्रमुख केसीको भनाइ छ ।

२०७६ असोज ८ गते बुधवार १२:२४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु