दशैँका लागि असोज ५ देखि अग्रिम टिकट बुकिङ
काठमाडौं । दशैँका लागि लक्षित गरेर आगामी असोज ५ गतेबाट सार्वजनिक यातायातमा अग्रिम टिकट खुलाइने भएको छ । यातायात व्यवस्था विभागमा बिहीबार यातायात व्यवसायी र ट्राफिक प्रहरीसमेत सहभागी बैठकले यात्रुले दशैँअगावै टिकट काट्ने व्यवस्था मिलाइने निर्णय गरेको हो । यात्रुको सहजताका लागि १४ स्थानमा यात्रु सहायता कक्षको समेत व्यवस्था मिलाइएको विभागले जनाएको छ ।
महासङ्घका महासचिव सरोज सिटौलाले व्यवसायीले दशैँ अगाडि नै विभिन्न स्थानमा सडकको मर्मत गर्नुपर्ने माग राखेको बताए । राष्ट्रिय राजमार्गसहित स्थानीय सडकमा वर्षाका समयमा परेको बाढीपहिरोका कारण खाल्डाखुल्डी रहेको उनको भनाइ छ ।
अघिल्ला वर्षमा दशैँलाई लक्षित गरेर नयाँ बस भित्र्याउने गरिएकामा यस वर्ष नयाँ खरीद नगरिएकाले भएकैलाई व्यवस्थित गरेर सञ्चालन गर्नुपर्ने अवस्था रहेको महासचिव सिटौलाले बताए । वर्षेनी दशैँ शुरु हुनुभन्दा झण्डै एक महीना पहिले नै अग्रिम टिकट खुलाउने गरेकामा यस वर्ष गत वर्षभन्दा ढिलो टिकट खुल्ने निर्णय भएको छ ।
२०७६ भदौ २७ गते शुक्रवार १२:११ बजे प्रकाशित