मूल्यवृद्धि असर : चाडपर्व नजिकीदै गर्दा उपभोक्ताको भान्सा थप मंहगो
अनुगमन प्रभावकारी र नियमित हुन सकेन, मूल्यवृद्धिलाई नियन्त्रण गर्न सरकारी संयन्त्र नै असफल
काठमाडौं । दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिका कारण नेपालीहरूको महान चाडपर्व दशैं, तिहार, छठ लगायतमा उपभोक्ताले थप महंगीको मार खेप्ने पर्ने भएको छ । चाडवाडमा नजिकीदै गर्दा एक महिनाको अवधीमा अधिकांश तरकारीको थोक मूल्य बढेको छ।
कालिमाटी तरकारी तथा फलफूल बजार विकास समितिका अनुसार आलु, गाँजर, काउली, मुला,च्याउ, रायो, पालुंगो, चमसुर, मेथीको साग, हरियो प्याज जिरीको साग, सौफको साग लगायतका तरकारीमा १३ प्रतिशत देखि ९६ प्रतिशत सम्म मूल्य बृद्धि भएको छ।
सरकारी तथ्याङ्क : २२ प्रतिशतसम्म मुल्यवृद्धि
सरकारले गत साउन २४ गते बजारबाट संकलन गरिएको दैनिक उपभोग्य वस्तुको मूल्य सार्वजनिक गर्यो । गत ३१ जेठअघि र त्यसपछि २१ साउनसम्मको दैनिक उपभोग्य वस्तुको मूल्य संकलन गरी सार्वजनिक गरिएअनुसार दैनिक उपभोग्य वस्तुको मूल्य २२ प्रतिशतसम्म वृद्धि भएको पाइयो ।
उक्त अवधिमा स्टिम जिरा मसिनो चामलको मूल्य ६ दशमलव ६७ प्रतिशतले वृद्धि भएको थियो । जेठ ३१ मा प्रतिकेजी ७५ रुपैयाँका दरले रहेको स्टिम जिरा मसिना चामल २१ साउनमा ८० रुपैयाँ प्रतिकिलोका दरले बिक्री भइरहेको पाइएको थियो । स्टिम जिरा मसिना चामलको मूल्य अहिलेपनि ८० रुपैयाँ प्रतिकेजीका दरले नै रहेको खुद्रा व्यापारीहरू बताउँछन् ।
जेठ ३१ मा प्रतिकिलो ४५ रुपैयाँका दरले रहेको आटाको मूल्य २१ साउनमा ५५ रुपैयाँ पुगेको सरकारी तथ्याङ्कमा उल्लेख थियो । सूजीको मूल्य ६० रुपैयाँ प्रतिकेजीबाट बढेर ६५ रुपैयाँ पुगेको थियो, यी त केही प्रतिनिधिमूलक उदाहरण मात्र हुन् । सरकारी तथ्याङ्क अनुसार सो अवधिमा अधिकांश दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि भएको पाइएको थियो ।
पछिल्लो समय पनि उस्तै मंहगी रहेको र यो अवधिमा बढेको मूल्य सरकारी विश्लेषणपछि नघटेको उपभोक्ता अधिकारकर्मी बताउँछन् । सरकारले नै मूल्यवृद्धि सार्वजनिक गर्दै बजार हस्तक्षेप नगरेकाले मूल्यवृद्धि नियन्त्रण हुन नसकेको उपभोक्ता अधिकारकर्मीको आरोप छ ।
बढिसकेको मूल्य नघटेको सरकारले पनि जानकारी दिएको छ । जेठ अन्तिमदेखि साउन तेस्रो सातासम्मको अवधिमा वृद्धि भएको मूल्य नघटेको मूल्यवृद्धि विश्लेषण गर्दै सार्वजनिक गर्ने निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले जनाएको छ ।
सरकारी संयन्त्र नै असफल
दशैं, तिहार, छठजस्ता ठूला चाडबाड नजिकिँदै गर्दा सरकारले दूधको मूल्य समेत बढाएको छ । प्रतिलिटर ६ रुपैयाँका दरले बढाइएको दूधको मूल्य शनिवारदेखि लागू भएको छ । दूधको मूल्यवृद्धि भएसँगै बजारमा दूधबाट बन्ने अन्य उत्पादनहरूको मूल्य समेत वृद्धि भएका छन् ।
दूधका उत्पादनहरू दही, मोही, घिउ लगायतका दुग्ध वस्तुको मूल्यवृद्धि भसकेको र चाडपर्वका बेलामा बढी माग हुने पनिर, रसमलाई, आइसक्रिम, मिठाइ लगायतका दुग्धजन्य वस्तुको मूल्यवृद्धि हुने पनि निश्चित भएको उपभोक्ता अधिकारकर्मीको दाबी थियो ।
२०७६ भदौ २६ गते बिहीवार १०:०८ बजे प्रकाशित