देउवा र प्रचण्ड संग पनि चिनियाँ विदेश मन्त्रीको भेट

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ।
मंगलबार बिहान प्रचण्ड र यीबीच काठमाडौं म्यारियट होटलमा भेटवार्ता भएको दाहालका प्रेस सहयोगी विष्णु सापकोटाले सेतोपाटीलाई जानकारी दिए। भेट उपलब्धिमूलक भएको दाहालको भनाइ छ।
विदेशमन्त्रीसँगको भेटपछि पत्रकारहरूसँग कुराकानी गर्दै दाहालले दुई देशबीचको सम्बन्ध अझै सुदृढ हुने बताए। ‘आर्थिक विकासमा चिनियाँ सरकारबाट हुने सहयोग र हाम्रा अपेक्षाबारे कुराकानी भयो,’ दाहालले भने, ‘दुई देशबीच सम्बन्ध अझै सुदृढ गर्ने विषयमा पनि छलफल भएको छ।’
दाहालका अनुसार चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणबारे पनि विदेशमन्त्रीसँग कुराकानी भयो।
राष्ट्रपतिको नेपाल भ्रमणबारे पनि हामीले भेटमा चर्चा गर्यौं,’ उनले भने, ‘विदेशमन्त्री असाध्यै सकारात्मक हुनुहुन्छ।’ दाहालका अनुसार चीनले आर्थिक क्षेत्रमा मात्रात्मक मात्र नभएर गुणात्मक सहयोग गर्ने विश्वास गरेका छन्।
‘दुई पार्टीका सम्बन्धमा पनि नयाँ आयाम आउने विश्वास छ,’ दाहालले भने। विदेश मन्त्रीसँगको भेटमा दुई राष्ट्रका बीच हुने भनिएका ठूला योजना ओझेलमा परेको भन्ने पत्रकारको प्रश्नमा दाहालले भने, ‘ती योजना पनि तयारीकै क्रममा छन्।’
देउवा र चिनियाँ विदेश मन्त्रीबीच भेट
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ। मंगलबार बिहान साढे ९ बजे होटल मेरियटमा देउवा र यीबीच भेटवार्ता भएको देउवाका सहयोगी भानु देउवाले बताए।
‘द्विपक्षीय हितका विषयमा छलफल भयो,’ उनले भने। तीन दिने भ्रमणका लागि आइतबार नेपाल आएका विदेशमन्त्री यीले आजै बिहान सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि सोही होटलमा भेटवार्ता गरेका थिए।
२०७६ भदौ २४ गते मंगलवार १७:१० बजे प्रकाशित