प्रधानमन्त्रीद्वय ओली र मोदीले गरे अन्तरदेशीय पेट्रोलियम पाइपलाइनको उद्घाटन
निगमले पाइपलाइन सञ्चालनसँगै पेट्रोलियम पदार्थको मूल्य घटायो
![image image](https://www.upabhoktanepal.com/wp-content/uploads/2019/09/KP-Modi.jpg)
काठमाडौँ। बहुप्रतिक्षित अन्तरदेशीय पेट्रोलियम पाइप लाइन परियोजनाको प्रधानमन्त्री केपी ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेका छन्। भारतको मोतिहारीबाट अमलेखगन्जसम्म बिछ्याइएको सो पाइप लाइन परियोजनाको मंगलबार नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा आ–आफ्नो मुलुकबाट ‘स्वीच’ थिचेर उद्घाटन गरेका हुन् ।
नेपालको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारबाट र भारतको तर्फबाट प्रधानमन्त्री नरेन्द्र मोदीले हैदरावादबाट ‘भिडियो कन्फरेन्स’ मार्फत एकैसाथ स्वीच थिचेर परियोजनाको उद्घाटन गरेका हुन् । उद्घाटनसँगै मोतिहारीबाट अमलेखगन्जसम्म पाइपलाइनमार्फत पेट्रोलियम पदार्थ भित्रिएको छ। पहिलो चरणमा पाइप लाइनबाट डिजेल ल्याइने छ। यसपछि क्रमशः पेट्रोल र मट्टीतेल ल्याइनेछ। मोतिहारी–अमलेखगन्ज पाइप लाइनको दूरी ६९ दशमलव २ किलोमिटर रहेको छ।
जसमा नेपालतर्फ २६ दशमलव २ र भारततर्फ ३३ दशमलव ६९ किलोमिटर रहेको छ । पाइप लाइनबाट दैनिक झण्डै चार हजार किलोलिटर पेट्रोलियम पदार्थ ल्याउन सकिने पेट्रोलियम पाइप लाइन परियोजनाले जनाएको छ। सो परियोजनाबाट पेट्रोलियम पदार्थ भित्रिन थालेपछि वार्षिक अर्बौ ढुवानी खर्च जोगिने बताइएको छ। पाइप लाइनबाट पेट्रोलियम पदार्थ ल्याउँदा वार्षिक दुई अर्बभन्दा बढी ढुवानी खर्च कटौती हुनेछ।
पाइपलाइन सञ्चालनमा आएसँगै इन्धन ढुवानीलागतको न्यूनीकरणले उपभोक्ता मूल्यसमेत समायोजन हुनेछ । देशभित्र खपत हुने डिजेलमध्ये ७० प्रतिशत अमलेखगञ्जबाट आपूर्ति हुँदै आएको निगमले जनाएको छ । पाइपलाइन परियोजना उद्घाटनको सम्पूर्ण प्राविधिक तथा व्यवस्थापकीय तयारी पूर्ण भएको नेपाल आयल निगमले जनाएको छ। निगम र भारतीय आयल कर्पोरेशनबीच अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजना निर्माणका लागि सन् २००४ मा सम्झौता भएको थियो।
सो परियोजना विविध कारणले एक दशकभन्दा बढी समय रोकिएर रहेको थियो। सन् २०१५ को अगष्टमा तत्कालीन वाणिज्य तथा आपूर्तिमन्त्री सुनीलबहादुर थापा र उनको भारतीय समकक्षी धर्मेन्द्र प्रधानले हस्ताक्षर गरेसँगै परियोजना निर्माण शुरु भएको हो। निगमको नेतृत्व सम्हाल्ले लगत्तै कार्यकारी निर्देशक पौडेलले उक्त परियोजनालाई तोकिएको समयभित्रै सम्पन्न गर्न ताकेता तथा कुनै समस्या देखिए समाधानका लागि सहजीकरण गर्दै आएका थिए ।
सो परियोजना निर्माणमा नेपाल र भारत सरकारले अत्यन्त चासो व्यक्त गरेका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा नयाँ दिल्लीबाट प्रधानमन्त्री ओली र उनका भारतीय समक्षी नरेन्द्र मोदीले संयुक्त रुपमा पाइपलाइन परियोजनाको शिलान्याश गरेका थिए। परियोजनाको लागत दुई अर्ब ७५ करोड भारतीय रुपैयाँ (नेपाली रुपैयाँ करीब चार अर्ब ४० करोड) रहेको छ।
निगमले पाइपलाइन सञ्चालनसँगै पेट्रोलियम पदार्थको मूल्य घटायो
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन गरिएको आयल निगमले जानकारी दिएको छ। आजदेखि पाइपलाइन सञ्चालनमा आउने भएकाले त्यसबाट हुने बचत उपभोक्तालाई दिन पनि मूल्य समायोजन गरिएको निगमले जानकारी दिएको छ।
निगमका अनुसार पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्ने छ। प्रति २ रुपैयाँ घटाइएको निगमले जानकारी दिएको छ। योसँगै अब पेट्रोल काठमाडौंमा प्रतिलिटर १०७ रुपैयाँ र डिजेलरमट्टितेल ९५ रुपैयाँ प्रतिलिटर हुने छ।
२०७६ भदौ २४ गते मंगलवार १३:२१ बजे प्रकाशित