उपत्यकामा विद्युतीय बस सञ्चालन, उपभोक्तालाई सहुलियत हुने
काठमाडौं । सुन्दर यातायात प्रालिले काठमाडौं उपत्यकामा विद्युतीय बस सञ्चालनमा ल्याएको छ । निजी क्षेत्रबाट पहिलोपटक सुन्दरले सोमबारबाट विद्युतीय बस सञ्चालनमा ल्याएको हो । चीनको बिएके कम्पनीबाट खरिद गरिएका दुई विद्युतीय बस सञ्चालनमा ल्याएको प्रालिले जनाएको छ ।
सुन्दर यातायातले सोमबार काठमाडौंमा औपचारिक कार्यक्रम गरेर बस सञ्चालनमा ल्याएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल, सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापालगायतले बसको संयुक्त रूपमा उद्घाटन गरे । विद्युतीय बस चक्रपथमा गुड्नेछन् । कम्पनीले यही वर्षभित्र २५ वटा बस काठमाडौंमा चलाउने योजना बनाएको अध्यक्ष थापाले बताए । उनका अनुसार कम्पनीले प्रतिबस एक करोड ६२ लाख मूल्य खर्चिएको छ ।
कम्पनीले थप ११ वटा बस ल्याउन चिनियाँ कम्पनीसँग सम्झौता गरिसकेको थापाले बताए । विद्युतीय बसमा ‘स्मार्ट यात्रा कार्ड’ लिएर यात्रा गर्न सकिनेछ । कम्पनीले यात्रुलाई २० प्रतिशत छुट दिने योजना बनाएको छ । सरकारले विद्युतीय सवारीका लागि छुट्टै भाडादर नतोकेको अवस्थामा अहिलेकै व्यवस्थालाई टेकेर कुल भाडामा २० प्रतिशत छुट दिने योजना बनाएको थापाले बताए ।
बसमा आधुनिक प्रविधिमार्फत स्मार्ट पेमेन्ट सिस्टम जोडिएको छ । मोबाइलबाट ‘क्युआर कोड’ स्क्यान गरेर पनि रकम भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ । केही हप्ताअघि चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको कम्पनीले विद्युतीय बसलाई ४० मिनेटमा चार्ज गर्न सकिने बताएको छ । रातभर ६ घन्टा चार्जसमेत गर्न सकिने कम्पनीले जनाएको छ । औसत एकपटक फुलचार्ज गर्दा २६८ किलोमिटर गाडी चलाउन सकिने कम्पनीको भनाइ छ ।
२०७६ भदौ २४ गते मंगलवार १३:०० बजे प्रकाशित