"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

नेपाल आयल निगमले ग्यास बोटलिङ्ग प्लान्ट निर्माण गर्ने

काठमाण्डौ । नेपाल आयल निगमले ग्यास बोटलिङ्ग प्लान्ट (ग्यास भण्डारण गृह) निर्माण गर्ने भएको छ। अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको सेफ्टी, भल्भ, परिमाणको चेकजाँच गरी सुरक्षित र गुणस्तरीय सिलिण्डर उपभोक्तासमक्ष पुर्याउन निगम आफैले बोटलिङ्ग प्लान्ट खोल्ने योजना बनाएको निगमले जानकारी दिएको छ। यसका लागि सञ्चालक समितिबाट स्वीकृत भएको निगमका नायब कार्यकारी निर्देशक शुशिल भट्टराईले जानकारी दिए।‘अहिलेसम्म निजी उद्योगको मात्र बोटलिङ्ग प्लान्ट छ। यसमा सरकारको पनि प्रतिनिधित्व गराउन प्लान्ट निमार्ण गर्न लागेका हौं’, भट्टराईले उपभोक्ता नेपालसँग भने।

सरकारले इन्धन क्षेत्रमा लगानी गर्दा निजी उद्योगहरूलाई पनि फाइदा हुने उनी बताउँछन्। यस कार्ययोजनाका लागि अध्ययन गर्न निगमले बजेट विनियोजन गरिसकेको छ। सुरूमा झापा र जनकपुरमा प्लान्ट निर्माण गरिने छ। पछि विस्तारै काठमाडौंलाई लक्षित गरेर हेटौंडामा पनि खोल्ने योजना रहेको छ।

परामर्शदाता छानिएपछि प्लान्ट निर्माण प्रक्रिया सुरू हुनेछ। प्लान्ट निमार्ण पछि निगमले आफ्नै ब्राण्डमा सिलिण्डर उत्पादन गरी ग्याँस भरेर बजारमा पठाउने छ।इन्धन भण्डारमा सरकारको पनि प्रतिनिधित्व गराउन ग्यास प्लान्ट निमार्ण गर्न लागेको हो ।‘अहिले उद्योगीहरू हाम्रो लागत उठेन, फाइदा भएन भनिरहेका छन्। निगम आफैले त्यसमा लगानी गर्दा कति लगानी लाग्ने रहेछ त्यो थाहा हुन्छ’, उनले भने, लागत मूल्य बढी लाग्ने देखियो भने निगमलाई बढाउन सहज हुने छ।

यसका साथै निगमले आपत्कालीन अवस्थामा प्रयोग गर्न साना–साना ५ र १० केजीका ग्यास भरेर राख्ने योजना पनि बनाएको छ।

उपभोक्तालाई हुने फाइदाहरु

निगमले सञ्चालन गरेको सिलिण्डर प्रयोग गर्दा उपभोक्तालाई निगमले अटुट रूपमा निरन्तर ग्यास आपूर्ति गर्नेछ। निगमले उत्पादन गरेको सिलिण्डर स्तरीय सिलिण्डर हुनुका साथै पूर्ण परिमाणको हुनेछ। त्यसले गर्दा उपभोक्ता ठगिनबाट जोगिने छन्।

निगमद्वारा उत्पादित सिलिण्डरको बिमा गरिने हुनाले उपभोक्ताले प्रयोगगर्दा कुनै धनजनको क्षती भएमा निगमले त्यसको पुर्ति गर्ने छ। सरकारी कम्पनीको ग्याँस भएकाले केही समस्या भएमा उपभोक्ताले सहजता पाउने बिश्वास निगमले गरेको छ ।

२०७६ भदौ २२ गते आइतवार १५:२४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु