डेङ्गुको डर : काठमाडौं उपत्यका लगायत शहरी क्षेत्रमा डेङ्गुको जोखिम
खानेपानी, सरसफाई र फोहोरमैलाको व्यवस्थापनमा सचेत हुन चिकित्सकहरुको सुझाव
काठमाडौं । डेङ्गु रोग प्रायः मनसुन सुरु भएपछि देखने गर्छ । पानी परेसँगै सडकमा रहेका खाल्डाखुल्डीदेखि घरको छतछतमा पानी जम्ने हुँदा लामखुट्टेका लागि प्रजनन सहज हुन्छ । लामखुट्टेको संख्या वृद्धि भएसँगै डेङ्गु फैलिन सक्ने सम्भावना पनि बढी हुन्छ ।
अघिल्लो वर्षसम्म मनसुन सुरु भएपछि नै डेङ्गुको सङ्क्रमण फैलिएको थियो । सरकारले पनि मनसुन सुरु भएपछि नै यो समस्या देखिने भएको हुँदा यो विषयमा खासै हतारो देखाएन । तर यसपटक डेङ्गुको संक्रमण फैलिन मनसुन पर्खनु परेन । नेपालमा मनसुन शुरु हुनअघि नै सुनसरीको धरानमा डेङ्गुको सङक्रमण फैलियो ।
धरानमा वैशाखमै डेङ्गु देखियो भन्ने कुरा आउन थालेपछि स्वास्थ्य क्षेत्रका विज्ञ व्यक्तिहरुनै अचम्ममा परे । डेङ्गुको नियन्त्रणको पूर्व तयारीमानै काम गरिरहेको बेलामा रोगनै फैलिएपछि इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाले वैशाखमा नै डेङ्गुको सङक्रमण देखिनुको कारण खोतल्न थाल्यो ।
अध्ययनपछि महाशाखाले निश्कर्ष निकाल्यो –धरानमा दैनिक पानी नआउने हुँदा स्थानीयले दैनिक प्रयोगको लागि बाल्टिन र गमलादेखि घरको छतमा ट्याङ्कीमा पानी जोहो गरेर राख्ने गरेका थिए र त्यही पानीमा लामखुट्टेले लार्भा पार्यो र त्यसैबाट डेङ्गु फैलियो । सहरी विकाससँगै गाडी ग्यारेजको विकास, गमलामा फूल रोप्ने प्रचलन, तापक्रममा वृद्धिलगायत कारण पनि यसप्रकारको रोग बढ्न थालेको विज्ञहरुको अनुमान छ ।
उपत्यकामा डेङ्गुको जोखिम
इपीडीमीयोलोजी महाशाखाका अनुसार उपत्यकामा अहिलेसम्म डेङ्गु देखिएको छैन । उपत्यकाको केही ठाउँमा डेङ्गुको सङक्रम देखिएको समाचारहरुको महाशाखाले खण्डन गरेको छ । तर, यहाँ पनि डेङ्गु रोग फैलन सक्ने जोखिम भने रहेको महाशाखाले स्वीकार गरेको छ । भाडामा पानी थापेर राख्ने, राम्रोसँग फोहोर व्यवस्थापन नगरिने हुँदा उपत्यकामा पनि डेङ्गुको संक्रमण फैलन सक्ने सम्भावना रहेको महाशाखा प्रमुख डा। विवेक कुमार लालले बताउँछन् । उपत्यका लगायत पानीको अभाव भएको सबै शहरी क्षेत्रमा डेङ्गुको संक्रमण हुन सक्ने महाशाखाको भनाई छ ।
डेङ्गु नियन्त्रणको लागि स्वास्थ्य क्षेत्रको तर्फबाट महाशाखाले काम गरे पनि खानेपानी र फोहोरमैलाको व्यवस्थापनसम्बन्धित निकायले गर्न नसकेको खण्डमा डेङ्गुको जोखिम कायम रहेको लाल बताउँछन् ।
‘डेङ्गुको सङ्क्रमण हरेक वर्ष नयाँ—नयाँ ठाउँमा फैलिरहेको छ । त्यसैले राजधानी लगायतका स्थानमा पनि डेङ्गुको सङ्क्रमण फैलिन सक्ने धेरै सम्भावना रहेको छ,’ लाल भन्छन् । अहिले मनसुन शुरु भइसकेपछि शहरी क्षेत्रमा डेङ्गु फैलिन सक्ने जोखिम थप बढेर गएको महाशाखाको भनाइ छ ।
लक्षण र उपचार
संक्रमित लामखुट्टेले टोकेको चारदेखि १० दिनभित्र लक्षण देखिन सक्छ । ज्वरो आउनु, टाउको दुख्नु, आँखाको गेडी दुख्नु, मांसपेसी वा जोर्नीहरू दुख्नु, वाकवाक वा बान्ता हुनु, शरीरमा स—साना चिलाउने टिकटिक परेको रातो बिबिरा देखिनु डेङ्गुका लक्षण हुन् ।
यस्तै ज्वरोसँगै पेटमा दुखाइ हुनु, लगातार बान्ता हुनु, गिजाबाट रगत बग्नु वा वान्तामा रगत देखिनु, आलश्य हुनु, छिटोछिटो श्वास फेर्नु, कलेजोको आकार बढ्नु र प्रयोगशाला जाँचमा तीब्र गतिमा प्लेटेलेटको संख्या घट्नु र हेमाटोकृट बढ्नुजस्ता लक्षण पनि देखिनसक्छ । यसमा बेलैमा सावधानी अपनाउनु पर्ने देखिन्छ ।
डेङ्गुको खोप हालै मात्र विकास गरिएको र पछिल्लो समय तीन देशमा मात्र उपलब्ध रहेको छ । नेपालमा यो उपलब्ध नभएकोले डेङ्गु संक्रमण हुन नदिन लामखुट्टेको टोकाइबाट बच्नु नै राम्रो मानिन्छ । एडिस जातको लामखुट्टे लामखुट्टेले बिहान र बेलुकी घाम डुब्नु अगाडि अत्यधिक मात्रामा सक्रिय रहने भएकोले यो समयमा विशेष ध्यान दिनु पर्ने देखिन्छ ।
२०७६ भदौ ८ गते आइतवार १७:५४ बजे प्रकाशित