उपभोक्ता मारमा : तरकारी तथा फलफूल अत्याधीक रुपमा महँगियो
उपभोक्ता आफै सचेत हुनु पर्ने र नियमक निकायले थप सक्रियता देखाउन पर्ने उपभोक्ता अधिकारकर्मीको सुझाव
काठमाडौं । कालीमाटी तरकारी तथा फलफूल विकास समितिको दाबी अनुसार पछिल्लो समय वर्षाका कारण तरकारीको उत्पादन प्रभावित भएको छ । सामान्य अवस्थामा कालीमाटीमा ८ देखि ९ सय टनसम्म तरकारी भित्रिने गरेकोमा साउन पहिलो सातादेखि ६ सय टन हाराहारी तरकारी मात्रै बजारमा भित्रिएको समितिका उपनिर्देशक विनय श्रेष्ठ बताउँछन् ।
कालीमाटी तरकारी तथा फलफूल बजारमा नेपालमै उत्पादित ठूलो जातको गोलभेंडाको प्रतिकिलो थोक मूल्य अघिल्लो वर्षको साउन ६ गते ३८ रुपैयाँ थियो । यस्तै सानो गोलभेंडाको मूल्य पनि प्रतिकिलो १८ रुपैयाँ थियो । ठीक एक वर्षपछि कालीमाटी तरकारी बजारमा ठूलो जातको गोलभेंडाको प्रतिकिलो ९८ रुपैयाँ थोक मूल्य तोकिएको छ भने सानो गोलभेंडाको मूल्य ६२ रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्षको तुलनामा सानो गोलभेंडामा प्रतिकिलो मूल्य २४४.४४ प्रतिशतले बढेको छ भने ठूलो गोलभेंडाको मूल्य १५७.८९ प्रतिशतले उकालो लागेको छ । कालीमाटी तरकारी तथा फलफूल बजारमा भित्रिने ५८ जातका तरकारी तथा फलफूलमध्ये अघिल्लो वर्षको तुलनामा ४३ प्रकारका तरकारी तथा फलफूलको मूल्य बढेको छ भने १३ थरीको मूल्य घटेको देखिन्छ । चिचिण्डो र चुकुन्दरको मूल्य भने उही छ ।
अघिल्लो वर्षको तुलनामा घिउसिमी लोकल १०० प्रतिशत, घिरौला १०५.२६ प्रतिशत र चिप्ले भिण्डी १२७.९१ प्रतिशतले मूल्यवृद्धि भएको छ । यसैगरी, सुकेको प्याज, स्थानीय काउली, सेतो मुला, भन्टा लाम्चो, तनेबोडी, भटमास कोसा, तीते करेला, लौका, सबै प्रकारका साग, कांक्रो, आँप, अनारलगायतका धेरै प्रकारका तरकारी तथा फलफूलको मूल्य यस वर्ष आकासिएको छ । खुर्सानी, नास्पाती, आलु, मूला तथा बन्दालगायतका तरकारी तथा फलफूल पनि थप महंगीयको छ ।
कालीमाटीमै अनुगमन गर्दा त व्यापक अत्याधीक मुल्य कायम गरिएको छ भने कालीमाटीबाट अन्यत्र लगिएका तरकारीको के अवस्था होला रु वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण विभाग अनुसार खुद्रामा बिक्री वितरण हुने तरकारी तथा फलफूलको स्पष्ट रुपमा मुल्य कायम गरिएको देखिदैन । मूल्यवृद्धि नियन्त्रणका लागि सरकारले तरकारी तथा फलफूल संकलन केन्द्रको स्थापना गरि संचालनमा ल्याउन सके महंगीको मारमा परेका उपभोक्तालाई राहत पुग्न सक्ने कञ्जुमर आई नेपालका महासचिव रन्जन शर्मा खनाल बताछन् ।
२०७६ साउन ७ गते मंगलवार १३:५९ बजे प्रकाशित