मौसम पूर्वानुमान : देशैभर आइतबारसम्म भारी वर्षा हुने

काठमाडौं । देशैभर बिहीबार रातिदेखि र मुसलधारे वर्षा भइराखेको छ। निरन्तरको वर्षाले तराईका विभिन्न जिल्लामा डुबान भएको छ भने पहाडमा ठाउँठाउँमा पहिरो खसेको छ। सडकमा पहिरो खसेपछि गए रातिदेखि बीपी राजमार्ग, पृथ्वी राजमार्ग र मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ। राजमार्ग अवरुद्ध हुँदा गन्तव्यमा हिँडेका यात्रु बीचमै अलपत्र परेका छन् ।
भारी वर्षाका कारण काठमाडौं बाहिरका विमानस्थलमा उडान प्रभावित भएको छ। बिहीबारदेखि लगातार परिराखेको वर्षाले अधिकांश विमानस्थल बन्द छ। त्रिभुवन विमानस्थलका प्रवक्ता प्रताप तिवारीका अनुसार लुक्ला, भोजपुर, तुम्लिङटार, फाल्पु, लामिडाँडा र धनगढी विमानस्थल बन्द छन्।
तिवारीले भैरहवा, पोखरा, विराटनगर र भद्रपुर विमानस्थल भने वर्षा भइराखे पनि सुचारु रहेको जानकारी दिए। जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार दिनभर मुसलधारे वर्षा भइरहनेछ। मौसमविद् सुवास रिमालले देशैभर भारी र मुसलधारे वर्षा हुने बताए।
‘शनिबारसम्म नै वर्षा जारी रहन्छ,’ उनले भने, ‘सतर्क रहनुपर्छ। अधिकांश ठाउँमा भारी वर्षा हुने देखिन्छ।’ वर्षासँगै हावाहुरी पनि चल्ने उनले जानकारी दिए।
‘मध्य तथा पूर्वीय क्षेत्रमा न्युनचापीय रेखा बनेको छ। त्यसले नै हावाहुरी र भारी वर्षा गराएको हो,’ उनले भने, ‘तीन दिनसम्म मनसुन सक्रिय रहन्छ। केही ठाउँमा भारी र केही ठाउँमा अति भारी वर्षा हुने पनि सम्भावना छ।’
वर्षाले नदी छेउका वस्तीमा डुबान हुनसक्ने भन्दै सरकारले सचेत रहन आग्रह गरेको छ।
२०७६ असार २७ गते शुक्रवार १७:२८ बजे प्रकाशित