पूर्वाधार नभएकोले विषादी परीक्षण रोकिएको कृषि मन्त्री खनालको प्रष्टोक्ति
काठमाडौं। कृषिमन्त्री चक्रपाणि खनालले पूर्वाधार नभएकाले नेपाल आयात गरिने फलफूल तथा तरकारीको विषादी परीक्षण रोकिएको बताउनुभएको छ । राष्ट्रियसभामा सांसदले उठाएका प्रश्नको जवाफ दिंदै कृषिमन्त्री खनालले नेपाल आयात गरिने फलफूल तथा तरकारीको विषादी परीक्षण सुरु गर्न कम्तिमा १ बर्ष लाग्ने बताउनुभएको हो ।
सरकारले पुर्वाधार निर्माण गरी ६ महिना पछि परीक्षण सुरु गरिने भनेपनि सो अवधिमा घोषणा गरिए अनुसार एकीकृत र प्रविधियुक्त परीक्षण सुरु गर्न नसकिने भन्दै उहाँले सरकारको भनाइको खण्डन गर्नुभयो । सात वटै प्रदेशमा रहेको विषादी परीक्षण केन्द्रबाट विषादी परीक्षण हुदै आएकोमा अहिले भने रोकिएको उहाँको भनाइ थियो ।
वाणिज्य र कृषि मन्त्रालयसंग सम्बन्धित कतिपय विषयमा एउटाले गरेको निर्णय अर्को मन्त्रालयले कार्यान्वयन गर्नुपर्ने अवस्था रहेकाले पूर्वाधार नहुँदा हाल परीक्षण रोक्नुपर्ने अवस्था सिर्जना भएको उहाँको भनाइ थियो । उहाँले परीक्षण रोक्न बाणिज्यले गरेको प्रस्ताव पास भएपछि आफुले कार्यान्वयन मात्र गरेको समेत सदनलाई जानकारी गराउनुभयो ।
असार २ गते राजपत्रमा प्रकाशित गरि आयातित तरकारी तथा फलफुलमा विषादी परीक्षण गर्ने निर्णय गरेको सरकारले आफनै निर्णय उल्टाउदै तत्कालका लागि विषादी परीक्षण नगर्ने निर्णय गरेपछि यसको सर्वत्र विरोध हुदै आएको छ ।
२०७६ असार २२ गते आइतवार १९:१० बजे प्रकाशित