"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

आयात कम हुदा बजारमा तरकारी भाउ बढ्यो, व्यवसायी र उपभोक्ता दुबै मर्कामा

विषादी जाँच्न कर्मचारी अभाव, फलफूल र तरकारी बोकेका १०३ ट्रक नाकामा अलपत्र

काठमाण्डौ । भारतबाट तरकारी र फलफूल बोकेर नेपाल आउँदै गरेका एक सयभन्दा धेरै ट्रक नाकामा रोकिएका छन् । विषादी परीक्षण नगरेका तरकारी र फलफूल आयातमा रोक लगाउने सरकारले निर्णय गरेपछि ट्रक नेपाल भित्रिन नपाएका हुन् । भैरहवा, काँकडभिट्टा, वीरगञ्ज, कैलाली र विराटनगर नाकामा आइपुगेका ट्रक विषादी परीक्षण नभएपछि नेपाल भित्रिन नसकेका व्यापारीले बताएका छन् ।

ट्रक नाकामा अलपत्र

विषादी परीक्षण नगरेका तरकारी र फलफूल आयातमा सरकारले रोक लगाएको छ । तर, नाकामा न प्रयोगशाला छन् न कर्मचारी । पछिल्लो एक सातामा तरकारी र फलफूल बोकेका १०३ ट्रक विभिन्न नाकामा रोकिएका छन् ।

तरकारी तथा फलफूल व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेका अनुसार सुनौली–भैरहवा नाकामा ५८, काँकडभिट्टामा १९, वीरगन्जमा १४, कैलाली र विराटनगरमा ६–६ ट्रक रोकिएका छन् । सरकारले पूर्वतयारीविनै विषादी परीक्षण गरेर मात्र तरकारी आयात गर्ने निर्णय गर्दा अहिले व्यवसायी मर्कामा परेका छन् ।

फलफूल र तरकारी बोकेर आएका गाडीको भन्सार पास भैसके पनि विषादी परीक्षण नभएकाले नाकामै रोकिएका हुन् । सरकारले पूर्वतयारीविनै विषादी परीक्षण गरेर मात्र तरकारी आयात गर्ने निर्णय गर्दा आफूहरु मर्कामा परेको व्यवसायीले गुनासो गरेका छन् । गर्मीको बेला धेरै दिनसम्म तरकारी र फलफूल ट्रकमै खाँदिएपछि आधाभन्दा बढी कुहिएको उनीहरुको भनाइ छ । विषादी परीक्षणमा ढिलाई हुँदा केही तरकारी र फलफूल भारततिरै फर्काइएको छ । धेरै चाहिँ अझै नाकामै राखिएको छ ।

कर्मचारी र प्रविधि थप गर्दै सरकार

सरकारले तरकारी र फलफूलको विषादी परीक्षणका लागि कर्मचारी र प्रविधि थप गर्ने तयारी भैरहेको जनाएको छ । तरकारी र फलफूल भित्रिने सबै नाकामा विषादी परीक्षण गर्नेगरी कर्मचारी पठाउन लागिएको केन्द्रीय कृषि प्रयोगशालाका प्रमुख कञ्चनराज पाण्डेले बताए ।

नाकामा लामो समय रोकिएको भन्दा पनि राम्रो प्याकिङ नहुँदा र गर्मीका कारण फलफूल र तरकारी कुहिएको उनको भनाइ छ ।

काठमाण्डौको कालिमाटी, बिर्तामोेड, नवलपुर, सर्लाही, पोखरा, बुटवल, नेपालगञ्ज, अत्तरिया लगायत ठाउँबाट अहिले विषादी परीक्षण भैरहेको उनले बताउए ।
प्रयोगशाला भन्दा पनि कर्मचारीको अभाव मुख्य समस्या भएको उनले बताए । एउटा विषादी परीक्षण केन्द्रमा एक दुई जना मात्र कर्मचारी हुने भएकाले कठिनाई भएको उनको भनाइ छ । भारतबाटै विषादी परीक्षणको प्रमाणपत्र ल्याएका गाडीलाई भने नाकामा नरोकी नेपाल आउन दिइएको छ ।

२०७६ असार १३ गते शुक्रवार १०:३६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु