"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

सत्तारुढ दलकै सांसदहरु सरकारको कार्यशैलिमा तिव्र असन्तुष्टि

काठमाडौँ । वर्तमान सरकारका कामकारवाही पञ्चायती शैलीका भन्दा फरक नभएको भन्दै सत्तारुढ दलकै सांसदहरुले यसैगरी अघि बढ्ने हो भने संघीय लोकतान्त्रिक गणतन्त्र खतरामा पर्ने चेतावनी दिएका छन् ।

उनीहरुले सरकारले आफ्ना कामकारवाही नसच्याए वर्तमान व्यवस्था र नेताहरुको भविष्य नै संकटमा पर्ने चेतावनी दिएका हुन् ।

प्रतिनिधि सभाको राज्यव्यवस्था तथा सुशासन समितिको आइतबार बसेको बैठकमा सत्तारुढ दलका सांसद जनार्दन शर्माले विप्लव समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल प्रकरणबारे सर्वत्र प्रश्न उठेको भन्दै घटनाबारे सत्यतथ्य सार्वजनिक गर्न माग गरे ।

‘मलाई जानकारी भएसम्म पौडेललाई समातेर हात बाँधेर गोली ठोकेको भन्ने छ, यथार्थ के हो ? गृहमन्त्रीले जानकारी दिनुपर्छ । यदि त्यसो हो भने वर्तमान सरकारको शैली पञ्चायती सरकार भन्दा फरक भएन । यसले यो व्यवस्था र हामी कहाँ पुग्छौँ सोचनीय विषय बनेको छ’, पूर्वगृहमन्त्री समेत रहेका शर्माले भने, ‘तत्काल यसबारे गृहमन्त्रीले जवाफ दिनुपर्छ ।’

पौडेलको गत साता सर्लाहीको लालबन्दीमा प्रहरीको गोली प्रहारबाट मृत्यु भएको थियो । बैठककमा काँग्रेस सांसद दिलेन्द्रप्रसाद बडु र डीला संग्रौलाले सरकारका काम कारवाहीले गणतन्त्रप्रति नै जनताको विश्वास घट्न थालेको बताए ।

‘सरकार जनताको मन छुने काम गर्न भन्दा पनि जनतालाई आघात पुग्ने निर्णय गर्न थालेको छ । यसले कसैलाई फाइदा पुग्दैन,’ बडु र संग्रौलाको भनाई छ ।

समितिमा सर्लाही घटनाबारे भएको छलफलपछि समिति सभापति शशी श्रेष्ठले घटनाबारे सत्यतथ्य जानकारी गराउन सोमबार गृहमन्त्री रामबहादुर थापा बादललाई समितिमा बोलाउने जानकारी दिइन् ।

यो घटनामा प्रहरीले इन्काउन्टरमा पौडेलको मृत्यु भएको भनेपनि इन्काउन्टर नभई समातेर गोली हानिएको भन्दै त्यसको विरोध भइरहेको छ ।
शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा समेत घटनाबारे सत्यतथ्य सदनलाई जानकारी गराउन सत्तारुढ दल र प्रतिपक्षका सांसदहरुले माग गरेका थिए ।

२०७६ असार ८ गते आइतवार १२:५७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु