मनसुनी प्रणाली अवरुद्ध हुदाँ देशभरको तापक्रम अधिकतम रुपमा बढ्दो
जलवायु परिवर्तन र बढ्दो शहरीकरणले काठमाडौंमा उखरमाउलो गर्मी
काठमाडौँ । मौसमी प्रणाली बंगालको खाडीमै रोकिएपछि नेपाल आउने मनसुनी प्रणाली अवरुद्ध भएको छ । मनसुन पछि धकेलिँदा देशैभर तापक्रम बढिरहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार यतिबेला बंगालको खाडी हुँदै जलवाष्पयुक्त वायु आइसक्नुपर्थ्यो । ‘जलवाष्पयुक्त वायुको प्रवाह भएको भए बादल लाग्थ्यो र धेरथोर वर्षा हुन्थ्यो,’ उनले भने, ‘त्यसो हुँदा तापक्रम घट्न पनि सहयोग पुग्थ्यो ।’ मनसुनी प्रणाली उत्तरतिर सर्दै आएपछि मनसुनी गतिविधि सुरु हुन्छ । ‘मनसुनी गतिविधिका लागि प्रणाली नै सर्नुपर्ने हुन्छ,’ उनले भने, ‘त्यो भएको छैन, बंगालकै खाडी आसपासमा मनसुन ‘ट्र्याप’ भएको छ ।’
महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार पश्चिमी वायुको प्रभावलाई दक्षिणपूर्वी वायुले विस्थापित गर्न सके मात्र मनसुन सुरु हुन मद्दत पुग्छ । ‘अहिले पश्चिम वायु नै प्रभावकारी देखिएको छ,’ उनले भने, ‘अरेबियाली सागरमा ‘वायु’ नामको आँधी आएका कारण पनि मनसुनी गतिविधि प्रवेशमा ढिलाइ भएको हो ।’ बंगालको खाडी र अरब सागर वरिपरि न्यूनचापीय प्रणाली विकास भएका कारण मनसुनी गतिविधि अघि बढेको छैन । एकरदुई दिनमा आँधी जमिनतिर सर्दै गएपछि मनसुनी गतिविधिका लागि सहज वातावरण बन्ने आकलन गरिएको छ ।
पौडेलका अनुसार भारतमा पनि यतिबेला सबैतिर मनसुन सक्रिय भइसक्नुपर्नेमा केरला र तमिलनाडु आसपासमै अडकिएको छ । बंगलादेशमा केही दिनदेखि मनसुन सुरु भएको छ । मनसुनी गतिविधि रोकिएर आकाशमा बादल बन्न नपाएपछि काठमाडौंसहित देशभर तापक्रम बढिरहेको छ । काठमाडौंमा यो साता ३३.५ डिग्रीसम्म तापक्रम रेकर्ड भएको छ । आइतबार भने ३२.५ मा घटेको छ । पश्चिम नेपालतिर तापक्रम ४० डिग्री नाघिसकेको छ ।
सामान्यतया नेपालमा जेठ अन्तिम साता ९जुन १०० मा मनसुन सुरु हुने भए पनि केही वर्षयता धकेलिरहेको छ । अझै चार–पाँच दिन मनसुन प्रवेश गर्ने छाँट छैन । ‘भारतको सिक्किमतिर दुई–तीन दिनमा मनसुन प्रवेश गर्ने सम्भावना देखिएको छ,’ मौसमविद् अर्यालले भने, ‘त्यसपछि बल्ल ताप्लेजुङ, इलाम हुँदै मनसुन प्रवेश हुन सक्छ ।’
दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्च ९सास्कोफ० को डेढ महिनाअघि काठमाडौंमा भएको सम्मेलनले यस वर्ष नेपालमा पूर्वी भागमा औसतभन्दा कम मनसुनी वर्षा हुने आकलन गरेको छ । मध्य र पश्चिमी भागमा भने औसत वर्षा हुने अनुमान गरिएको छ । मनसुन सुरु हुनुअघि दक्षिण एसिया क्षेत्रका मौसमविद् मनसुनसम्बन्धी साझा दृष्टिकोण बनाउन सन् २०१० देखि भेला हुने गरेका छन् ।
जलवायु परिवर्तन र बढ्दो शहरीकरणले काठमाडौंमा उखरमाउलो गर्मी
विगत केही दिनदेखि काठमाण्डू उपत्यकामा समेत गर्मी बढेको महसुस भएको उपत्यकावासीहरूले बताउन थालेका छन्। कतिपयले त तराईको तापक्रमसँग तुलना गर्दै काठमाण्डूमा पनि उत्तिकै गर्मी हुन थालेको समेत भन्ने गरेका छन्।
जल तथा मौसम विभागका विगत केही दिनको विवरणहरू हेर्दा पनि कतिपय तराईका शहरहरू र काठमाण्डू उपत्यकामा तापक्रम उस्तैउस्तै देखिएको छ। उपत्यकावासीका भनाइमा काठमाण्डूमा विगत केही वर्षदेखि हरेक वर्ष गर्मी बढेको महसुस हुने गरेको छ। विभागका अनुसार शनिवार काठाण्डूको अधिकतम तापक्रम ३३ डिग्री सेल्सियसम्म पुगेको थियो भने आइतवार दिउँसो ३२ डिग्री सेल्सियसकै हाराहारी तापक्रम पुगेको छ।
शनिवार विराटनगरको तापक्रम ३४.५ डिग्री सेल्सियस थियो। जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौसम विज्ञ अर्चना श्रेष्ठले भनिन्, यसपटक गर्मी बढेको अनुभव गर्नुमा जलवायु परिवर्तन र बढ्दो शहरीकरण नै हो। सामान्यरूपमा विगत ४० वर्षको विवरण हेर्दा काठमाण्डूमा र पहाडी क्षेत्रमा मनसुनपूर्व र मनसुनका बेलामा अधिकतम तापक्रम बढ्दै गएको देखिन्छ।
सन् १९७१ देखि २०१४ सम्मको तुलना गर्दा यी क्षेत्रमा हरेक वर्ष ०.४५ डिग्री सेल्सियसको दरले तापक्रम बढेको देखिन्छ। तर गत वर्षकै तुलनामा यसपटक गर्मी बढेको अनुभव गर्नुमा चाहिँ प्राकृतिक रूपमा तापक्रम वृद्धि भएको भन्दा पनि अन्य कारण छन्। त्यसको एउटा कारण भनेको काठमाण्डू उपत्यकामा बढ्दो शहरीकरण नै हो।
जलवायु परिवर्तनको अनुकूलन सम्बन्धी एउटा अध्ययन गर्दा हामीले काठमाण्डू मात्र होइन अन्य पहाडी क्षेत्रमा पनि तराईको तुलनामा तापक्रम अझ धेरै बढेको पाएका छौँ। हरेक वर्ष यस्तो अवस्था देखिनुको कारण भनेको जलवायु परिवर्तन र विश्वभर भएको तापमान वृद्धि नै हो।
विविसि र कान्तिपुरको सहयोगमा
२०७६ असार २ गते सोमवार १२:३५ बजे प्रकाशित