"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

काठमाडौंमा रात्री बस सेवा सुचारु गर्न विभागको तयारी, ५० प्रतिशत बढी भाडा लाग्ने

काठमाडौं । हिजोआज साँझ पर्ने वित्तिकै काठमाडौं शहर सुनसान हुन थाल्छ । आक्लझुक्कलमा बस र माइक्रो आउँछन् र त्यसैमा कोचिएर सर्वसाधारण यात्रा गर्छन् । सार्वजनिक सवारी नपाउँदा हिडेर नै गन्तव्यमा पुग्नु पर्ने बाध्यता छ । अस्पतालका कुरुवा, ढिलासम्म काममा रहने कामदार तथा बसपार्कमा राति आइपुग्ने यात्रुलाई लक्षित गरेर सेवा दिने उद्देश्यले पटक पटक रात्रि बस संचालन गर्ने महानगरको योजना हो ।

काठमाडौंमा रातिको समयमा यात्रुहरुलाई सुविधा दिनुपर्ने भन्दै यातायात व्यवस्था विभाग लागिपरेको छ । काठमाडौं उपत्यकाभित्र पुनः रात्रिकालीन बस सेवा संचालनमा सरोकारवालाहरुले पहल गरेका छन् । एक पटक तुहिएको रात्रिकालीन बस पुनः संचालनमा आउने हल्लाले नागरिकहरुकमा खासै विश्वास भने लागेको छैन ।

विभागका महानिर्देशक कुमार दाहालले रातमा पनि बस सेवा सञ्चालन गर्न विभागले प्रस्ताव गरेको बताए । यसका लागि स्वयम्भु, महानगर यातायात, साझा लगायतका यातायात कम्पनीले रात्री बस सेवा सञ्चालनमा चासो देखाएका छन् ।

हिजोआज काठमाडौंमा अधिकांश रुटमा रातको ८ बजेपछि गाडी पाउन सर्वसाधारणलाई मुस्किल नै पर्छ । यसैले पनि होला सरकारले काठमाडौंमा ‘नाइट लाइफ’ आवश्यक रहेको निश्कर्ष पनि निकालेको छ । यातायात व्यवस्था विभागले रात्री बस सेवा सुरु गर्ने प्रस्ताव गरेपछि झण्डै एक दर्जन यातायात कम्पनीले त्यसमा चासो दिएको बुझिएको छ ।

तर रात्री बस चलाउने प्रयास यो नै पहिलोपटक भने होइन । यसअघि साझा बस सेवाले राती ९ बजेसम्म सेवा दिन सुरु गरेको थियो । तर, आर्थिक रुपमा फलदायी नभएपछि उसले सेवा नै रोक्नुप¥यो । रात्रिकालिन बस सेवा संचालन भएमा बेलुकाको समयमा कोचिएर यात्रा गर्नुपर्दैनथ्यो । जसका कारण यात्रु बसमा असुरक्षित यात्रा गर्न र ट्याक्सीको मनोमानी भाडाबाट मुक्त हुने थिए ।

योजना सार्वजनिक गर्ने तर कार्यान्वयन गर्न नसक्नु महानगरको निकम्मापन भएको यात्रुहरु बताउँछन् । राति १२ बजे पनि सजिलै बस चढेर यात्रा गर्न पाइने अवस्था भए रात्री जनजीविन अझै लम्बिने र त्यसले यातायातमा यात्रुको व्यवस्थापन पनि निकै सहज हुने विभागका महानिर्देशक दाहालको तर्क छ ।

५० प्रतिशत बढी भाडा लाग्ने

रात्रिकालीन बस सेवालाई टिकाउन विभागले यो पटक विशेष व्यवस्था गरेको छ । विभागले अतिरिक्त शुल्क लिएर सेवा दिन व्यवसायीलाई अनुरोध गरेको हो । व्यवसायीलाई अतिरिक्त सहुलियतका साथै रात्री बस चलाउने बसलाई साविकको भन्दा ५० प्रतिशत बढी भाडा लिने अधिकार दिइने महानिर्देशक दाहालेले बताए ।

तर नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला भने साविकको भन्दा दोब्बर भाडा उठाउन पाए राति १२ बजेसम्म सेवा दिन तयार रहेको बताउँछन् । काठमाडौंको रत्नपार्कलाई केन्द्र बनाएर कलंकी, बुढानीलकण्ठ, कोटेश्वर, जाउलाखेल लगायतका क्षत्रेमा रसेवा दिन सकिने उनको भनाई छ ।

‘सरकारले हामीलाई सुरक्षा र वातावरण मिलाउनुपर्छ, हामी सेवा दिन तयार हुन्छौं ।’ उनी भन्छन्, ‘लामो समयसम्म सेवा टिकाउने वातावरण बनाउने जिम्मा सरकारको हो ।’

२०७६ जेठ २९ गते बुधवार १५:३८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु