आर्थिक वर्ष : ९ महिनामा मुलुकको व्यापार घाटा १० खर्ब, भुक्तानी सन्तुलन ६४ अर्ब ऋणात्मक

काठमाडौं । मुलुकको व्यापार घाटा चुलिँदै गएको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको यस आर्थिक वर्षको ९ महिना (साउनदेखि चैतसम्म)को मुलुकको वित्तीय विवरणअनुसार व्यापार घाटा झण्डै १० खर्ब पुगेको छ।
नौ महिनामा कुल वस्तु निर्यात १६.९ प्रतिशतले वृद्धि हुँदा आयात २१.३ प्रतिशतले बढेको छ। कुल ६९ अर्ब ८२ करोडको नेपाली उत्पादन निर्यात भएको छ भने १० खर्ब ६१ अर्ब रुपैयाँको विदेशी सामान भित्रिएको छ।
पोलिष्टर यार्न, जस्तापाता, जुटका सामान, जडीबुटी, ऊनी गलैंचा लगायतका वस्तुको निर्यात बढेको छ। अलैँची, जुत्ता तथा चप्पल, छाला, तयारी पोशाक, रोजिन लगायतका वस्तुहरुको निर्यात भने घटेको छ।
आयात हुने बस्तुमा भने पेट्रोलियम पदार्थको हिस्सा सबैभन्दा उच्च छ। यस अवधिमा १ खर्ब ५४ अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ मात्रै आयात भएको छ। गत वर्षको यस अवधिको तुलनामा पेट्रोलियम पदार्थको आयात ३३ प्रतिशतले बढेको छ।
त्यसबाहेक तयारी पोशाक, हवाईजहाज तथा पार्टपुर्जा, एम.एस। बिलेट, विद्युतीय सामग्री लगायतका वस्तुको आयात बढेको छ।
सिमेन्ट, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, यातायातका साधन तथा पार्टपुर्जा, स्वास्थ्य उपकरण तथा औजार, कच्चा भटमासको तेल लगायतका वस्तुहरुको आयात भने घटेको छ।
मुलुकको व्यापार घाटा चुलिँदै जाँदा त्यसले भुक्तानी सन्तुलनलाई नै दवाव पुर्याएको छ। आर्थिक वर्षको चैत मसान्तसम्म मुलुकको भुक्तानी सन्तुलन ६४ अर्ब ६८ करोड घाटामा ९ऋणात्मक० गएको छ। चैत महिनामा मात्रै ५ अर्ब ६९ करोडले यस्तो घाटा बढेको छ।
अघिल्लो वर्ष यसै अवधिको तुलनामा भुक्तानी घाटा ५० अर्ब ८ करोडले बढेको हो। गत वर्ष यस अवधिमा १४ अर्ब ६० करोड भुक्तानी सन्तुलन नोक्सानमा थियो।
मुलुकमा भित्रिने र बाहिरिने रकमको अन्तरलाई भुक्तानी सन्तुलन वा शोधनान्तर स्थिति भन्ने गरिन्छ। मुलुकमा भित्रिनेभन्दा बाहिरिने रकम बढी हुँदा भुक्तानी सन्तुलन वा शोधनान्तर स्थिति घाटामा देखिन्छ।
विगतका वर्षलाई हेर्ने हो भने मुलुकको भुक्तानी सन्तुलन घाटा बढ्दै गएको देखिन्छ। मुलुकमा वैदेशिक लगानी बढ्न नसक्नु र व्यापार घाटा चुलिँदै जाँदा भुक्तानी सन्तुलनमा नराम्रो असर परिरहेको छ।
भुक्तानी सन्तुलन घाटामा जाँदा मुलुकमा लगानीयोग्य रकमको अभाव हुने समस्या बढ्न जान्छ। पछिल्लो समय बैंकहरुमा लगानीयोग्य रकमको अभाव समेत चुलिँदै गएको छ।
-रासस
२०७६ जेठ ६ गते सोमवार १२:५६ बजे प्रकाशित